आफ्नो सहभागितामा परियोजना संचालन गर्न आइएमएफको प्रस्ताव




काठमाडौं । अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपालमा आफ्नो संलग्नतामा परियोजना संचालन गर्न प्रस्ताव गरेको छ । आइएमएफका डेपुटी म्यानेजिङ डाइरेक्टर टाओ झ्याङले गरेको ४ दिने नेपाल भ्रमणमा उनले यस्तो प्रस्ताव गरेका हुन् ।

गत शुक्रबार नेपाल आएका झ्याङ सोमबार फर्किसकेका छन् । उनले नेपाल भ्रमणका क्रममा राष्ट्र बैंकका उच्चअधिकारीहरुसँग छलफल गर्दै आइएमएफको सहमागितामा परियोजना संचालन गर्नु उपयुक्त हुने बताएका थिए ।

आइएमएफका डेपुटी म्यानेजिङ डाइरेक्टरको टोलीले नेपालमा परियोजना संचालन गर्न सुझाव दिएको राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले जानकारी दिए ।

‘लामो समयदेखि हामीले आइएमएफको सहभागितामा कुनै परियोजना संचालन गरेका छैनौं, हामीले लिएका नीति, संचालन गरेका कार्यक्रमप्रति उनीहरु सन्तुष्ट देखिए, तर आफूहरुको सहभागितमा कुनै परियोजना संचालन भए हुन्थ्यो भन्ने उनीहरुको भनाइ थियो,’ कार्यकारी निर्देशक थापाले क्लिकमाण्डूसँग भने ।

नेपालले करिब १० बर्षयता आइएमएफको सहभागितामा कुनै परियोजना संचालन गरेको छैन । वित्तीय सुधार कार्यक्रम सम्पन्न भएपछि नेपालमा आइएमएफ कार्यक्रम विहिन भएको हो ।

तर, यसबीचमा पनि आइएमएफ र नेपालबीच सहयोग आदानप्रदान भने नभएको होइन । सन् २०१० को आर्थिक मन्दीताका नेपालले आइएमएफको र्यापिट क्रेडिट फ्यासिलिटी (आरसिएफ) अन्तरगत करिब ५ अर्ब रुपैयाँ लिएको थियो । यस्तै गत २०७२ को विनासकारी भूकम्प पछि पनि नेपालले सोही सहयोग अन्तरगत करिब ५ अर्ब रुपैयाँ नै लिएको थियो ।

नेपालको आर्थिक अबस्थाप्रति आइएमएफ सन्तुष्ट देखिएको छ । संक्रमणकालिन अबस्थामा पनि साढे ७ प्रतिशतको आर्थिक बृद्धिदर कायम राखेको तथा वित्तीय क्षेत्रलाई सबल रुपमा अगाडि बढाएको भन्दै आइएमएफले नेपालको प्रशंसा गरेको थापाले बताए ।

डेपुटी झ्याङ सहितको टोलीले अर्थमन्त्री, नेपाल राष्ट्र बैंकका गभर्नर, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, निजी क्षेत्रका प्रतिनिधि तथा नेपाल बैंकर्स एसोसिएसनका पदाधिकारी लगायतका ब्यक्तिहरुसँग भेटघाट गरेको थियो ।

झ्याङको नेपाल भ्रमणको अबसर पारेर नेपालको अर्थतन्त्रको अबस्था तथा केन्द्रीय बैंकले अबलम्बन गरेका नीति तथा कार्यान्वयनको अबस्थाका बारेमा नेपाल राष्ट्र बैंकको तर्फबाट प्रस्तुतीकरण पनि गरिएको थियो ।

झ्याङ नेपालको अर्थतन्त्रको बर्तमान अबस्था, चुनौति तथा द्धीपक्षीय हितबारे छलफल गर्न नेपाल आएका थिए । नेपाल राष्ट्र बैंकको गभर्नर डा. चिरन्जीबी नेपाल आइएमएफको बैठकमा सहभागी हुँदा उनलाई नेपाल भ्रमण गर्न आग्रह गरेका थिए ।

झ्याङ सन् २०१६ को २२ अगस्टमा आइएमएफको डेपुटी म्यानेजिङ डाइरेक्टर बनेका हुन् । उनी चीनको केन्द्रीय बैंकको डेपुटी गभर्नर भइसकेका ब्यक्ति हुन भने सन् २०११ देखि सन् २०१५ सम्म आइएमएफको तर्फबाट चीनकै लागि कार्यकारी निर्देशक समेत भइसकेका थिए । उनले अमेरिकाको क्यानिफोर्निया विश्वविद्यालयबाट अर्थशास्त्र बिषयमा विद्यावारिधि गरेका छन् ।


क्लिकमान्डु