बिदेश जान नसकेका शंकरले चटपटे बेचेरै बनाए चितवन र हेटौडामा घर




काठमाडौं । चाबहिल स्तुपा अगाडी बिहान ८ बजेदेखि नै एउटा ठेलागाडा वरिपरी भिड देख्न सकिन्छ । त्यो भिड चटपटे खान आएका मानिसहरुको हो ।

चटपटे बनाउँदै छन् शंकर तिमलसिना । शंकर त्यहाँ आज मात्र यस्तो व्यस्त देखिएका हैनन् । उनी सधै यतिकै ब्यस्त हुन्छन् । उनी त्यहा भुजा हालेको, नहालेको सबै प्रकारको चटपटे मात्रै बेच्ने गर्छन् । उनको चटपटे खान कपन, बौद्ध, जोरपाटी र गौसालादेखि मानिसहरु आउने गर्छन् ।

‘यहाँ दाइले बनाउने चटपटेको स्वाद राम्रो हुन्छ, मिटो लाग्छ, त्यसैले सधै यहाँ नै आउने गछौँ,’ चटपटे खादै गरेको भेटिएकी अनिता राई भन्छिन् ।

२८ वर्षको उमेरमा ३ हजार रुपैयाँ बोकेर काठमाडौं छिरेका शंकर साउदी जान भनी काठमाडौं आएका थिए ।

उनी भन्छन् ‘बिदेश जान काठमाडौं आएको, जान सकिएन, अनि सुरुमा ५ वर्ष जति त गाडी नै गुडाए, तर त्यसबाट कमाएको पैसाले परिवारलाई पाल्न र छोराछोरी पढाउन पुगेन, त्यसैले अब केही आफ्नै व्यापार गर्नुपर्यो भनेर चटपटे बनाउन तिर लागियो,’ शंकर भन्छन् ।

२०६० सालदेखि चटपटे बेच्ने काम सुरु गरेका उनले चटपटे बेचेको पैसाले नै आफ्ना छोरा छोरीलाई उच्च शिक्षा दिलायका छन् ।

बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म स्तुपा अगाडी चटपटे बेच्दै आएका उनको पसलमा दिनमा २ सय जना जतिले चटपटे खाने गरेका छन् । एक पटकमा मानिसहरुले २० रुपैयाँदेखि २ सय रुपैयाँसम्मको चटपटे खानेगरेको उनको भनाइ छ ।

उनले चटपटे बेचेर नै चार जनाको परिवार धान्दै आएका छन् । शंकरले चटपटे बेचेर नै चितवन र हेटौडामा घरसमेत बनाएका छन् । उनले चटपटे बेचेर नै आफ्नो छोरीलाई १२ कक्षासम्म पढाइ विबाहसमेत गरिसकेका छन् । छोरा भने अहिले ११ कक्षा पढ्दै गरेको उनी बताउछन् ।

दैनिक १५ सय देखि २ हजार रुपैयाँसम्म कमाइ गर्ने गरेका शंकर चटपटे बेचेर मासिक ६० हजार रुपैयाँसम्म आम्दानी गर्ने गर्छन् ।

४२ वर्षीया शंकर दैनिक चटपटेको सामाग्रीको लागि २ सय ५० रुपैयाँ मात्रै लगानी गर्छन् । थोरै खर्चले धेरै आम्दानी गरी नेपालमै सुखका साथ जीवन यापन गर्न सकिने उनी एक उदाहरण नै बनेका छन् ।

राम्रै कमाइ हुँदै गरेको भए पनि समय समयमा नगरपालिकाले दुख दिने गरेको उनको गुनासो छ । उनी भन्छन् ‘मेरै यहाँ बस्दा ५ चोटी ठेला नगरपालिकाले लगिसक्यो, लगेपछि ३ हजार जति नतिरेसम्म फिर्ता नै पाइदैन ।’


क्लिकमान्डु