होटल व्यवस्थापन कलेजहरूको अन्तर्राष्ट्रिय संगठनमा नेपाल बोर्ड सदस्य



काठमाडौं । विश्वभरिका होटल व्यवस्थापन शिक्षा प्रदान गर्दै आएका होटल म्यानेजमेन्टसम्बन्धी शैक्षिक प्रतिष्ठानहरूको अन्तर्राष्ट्रिय संगठन इन्टरनेशनल एशोसियसन अफ होटल म्यानेजमेन्ट स्कुल्स् (इयूहोफा)मा पहिलो पटक नेपाल निर्वाचित भएको छ ।

इटालीको लुकामा भएको इयूहोफा इन्टरनेशनलको ५६ औं कंग्रेसले नेपाललाई बोर्ड सदस्यका रूपमा निर्वाचित गरेको हो । नेपालका तर्फबाट राजधानीको ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज) का प्रमुख कार्यकारी अधिकृत खेम लकाइँ उक्त महासभामा सहभागी भएका थिए ।

इयूहोफा इन्टरनेशनलमा विश्वभरिका २ सय होटल व्यवस्थापन शिक्षा प्रदायकहरू सदस्य रहेका छन् । उक्त संस्था होटल व्यवस्थापन शिक्षालाई प्रभावकारी तुल्याउने, होटल व्यवस्थापन तथा आतिथ्य सत्कारका क्षेत्रमा विश्वभरिका नवसिर्जना र उत्तम अभ्यासहरूको अनुशरण गर्ने, विद्यार्थी तथा शिक्षकहरूको आदानप्रदान गर्ने उद्देश्यसहित ५६ वर्षअघि युरोपमा स्थापना भएको हो ।

लुकामा सम्पन्न सम्मेलनले सन् २०१८ को कंग्रेस विश्वकै पहिलो होटल स्कूल स्विजरल्यान्डको लुजानस्ति इएचएल स्थापनाको १२५ औं वर्ष पूरा भएको अवसरमा स्विजरल्यान्डमा आयोजना गर्ने र सन् २०१९को कंग्रेस नेपालमा आयोजना गर्ने निर्णय गरेको छ ।


क्लिकमान्डु