दैनिक ९ रुपैयाँ बचत गरेर १० लाखको बीमा



काठमाडौं । तपाईं दैनिक ९ रुपैयाँ जोगाउन सक्नुहुन्छ ? सक्नुहुन्छ भने तपाईंले १० लाख रुपैयाँ बराबरको बीमा गर्न सक्नुहुने छ । यसको अर्थ तपाईं दैनिक ९ रुपैयाँ बचत गरेर यो बीमा योजनामा सहभागी हुनुभयो भने बीमा अबधिभित्र तपाईंको मृत्यु भयो भने बीमा कम्पनीले तपाईंको परिवारलाई १० लाख रुपैयाँ भुक्तानी गर्छ ।

जीबन बीमा व्यवसाय सञ्चालन गर्दै आएको एशियन लाइफ इनस्योरेन्सले यस्तो आकर्षक योजना ल्याएको हो । जसअनुसार तपाईले दैनिक ९ रुपैयाँका दरले एशियन लाइफ इन्स्योरेन्सलाई एकैपटक एक वर्षको ३ हजार २ सय ५० रुपैयाँ बीमाशुल्क तिर्नुभयो भने तपाईंको वर्षभरीको १० लाख रुपैयाँ बराबरको बीमा हुन्छ ।

जीवन बीमाका लक्षित ग्राहक वर्गहरुको रुचीलाई मध्यनजर गरी ‘सरल सुरक्षा (म्यादी जीवन बीमा योजना’ नामक नयाँ योजना ल्याएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले क्लिकमाण्डूलाई जानकारी दिए ।

‘सानो बचतले पनि बीमा सम्भव छ भन्ने सन्देश बीमाका ग्राहकसम्म पुर्याउन यस्तो योजना ल्याएका हौं,’ श्रेष्ठले भने ।

कम्तिमा १६ वर्ष र बढीमा ६० वर्ष उमेर भएका सर्वसाधारणले यो जीबन बीमा योजनामा सहभागी हुन सक्नेछन् । यो बीमा योजनाको अबधि १ वर्षको हुनेछ । र, न्यूनतम २ लाख ५० हजार रुपैयाँसम्मको बीमा गराउन सकिनेछ । जसका लागि दैनिक ३/४ रुपैयाँ बचत गरे पुग्छ ।

उमेर अनुसारको बीमाशुल्क भुक्तानी गरी प्रत्येक बर्ष बीमालेख नबिकरण गराउन सकिने ब्यवस्था कम्पनीले जनाएको छ । यसअघिएशियन लाईफले १५ वटा जीवन बीमा योजनाहरु प्रचलनमा ल्याएको छ । हाल यस कम्पनीले २५ वटा शाखा र ७० वटा उपशाखाहरुबाट ग्राहक महानुभावहरुलाई बीमा सेवा पुर्याउदै आएको छ ।


पुष्प दुलाल