नेपाली विद्यार्थीहरुको क्रिकेट क्लब डेनमार्कको दोस्रो डिभिजनमा



काठमाडौं । डेनमार्कमा रहेको नेपाली क्रिकेट क्लब डेनिस क्रिकेट महासंघको दोस्रो डिभिजनमा प्रवेश गरेको छ । नेपालीहरुको क्रिकेट क्लब विगत एक वर्षदेखि सो डेनिस क्रिकेट महासंघको सदस्यको रुपमा रहँदै डिभिजन ४ तथा डिभिजन ३ मा व्यवसायीक क्रिकेट खेलेको थियो ।

शुरुवाती चरणमा विद्यार्थीहरुको रमाईलोको तथा भेटघाटको अवसर जुटाउन खेल्ने गरेको क्रिकेटले डिभिजन ४ तथा डिभिजन ३ मा व्यवसायीक क्रिकेट खेलेको थियो । सो खेलहरुमा १३ मध्ये ११ वटा खेल जितेको थियो भने तेस्रो डिभिजनमा उत्कृष्ट अनुशासित टिमको उपाधी हात पार्न सफल भएको थियो ।

क्लबका उपकप्ता तथा खेलाडी शुभाषिस ओझाले उपलब्धीप्रति गौरब गर्दै तेस्रो डिभिजनमा १४ वटा अन्य क्लबसँगको प्रतिस्पर्धामार्फत अगाडि आएको बताए ।

नेपाली क्रिकेट क्लबले डिभिजन २ मा ८ वटा क्लबसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

ओझाका अनुसार नेपाली खेलाडिहरुले त्यसको लागि कलेजको समय मिलाउँदै विभिन्न शहरहरुमा प्रतियोगिता खेल्नुपर्ने हुन्छ ।

‘हामीले हाम्रो दक्षताको बारेमा शुरुवाती चरणमा ध्यान नदिएपनि हाल हामीले उनीहरुको सोचलाई परिवर्तन गर्न सकेका छौं,’ नेपाली क्लबका कोअर्डिनेटर कृष्ण चन्दले भने ।

क्लबका कोषाध्यक्ष शुशिला हमालले आगामी दिनमा वित्तिय समस्याहरु आउन सक्ने भन्दै तेस्रो डिभिजनका लागि करिब २५ हजार डेनमार्क क्रोनर अर्थात ४ लाख रुपैयाँ खर्च लाग्ने बताईन् । उनले दोस्रो डिभिजनमा उक्लेपछि सो खर्च बढेर करिब १३ लाख रुपैयाँसम्म पुग्ने जानकारी दिईन् ।

नेपाली क्लबलाई क्रिकेट खेल्नको लागि डेनमार्कको स्थानीय सरकारी निकायले खेल मैदान र चेन्जिङ्ग रुमको सुविधा निशुल्क प्रदान गरिरहेको छ ।

त्यसैगरि महासंघले नेपाली खेलाडीहरुलाई कोचिङ्ग तालिमहरु समेत प्रदान गरिरहेको छ ।

नेपाली क्लबले हालसम्म नेपालीहरुको आफ्नै खर्चमा क्रिकेटमा लगानी गरिरहेको जानकारी दिएको छ । क्लबले पहिलो डिभिजनबाट खेल्न थालेपछि भने महासंघले नै खर्च उपलब्ध गराउने बताईएको छ ।

क्लबका कप्तान विप्लव अग्रहरीले खेलाडीहरुको मेहनत र योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ सशक्तरुपमा प्रतिस्पर्धाहरुमा सहभागी हुने बताए ।

हाल नेपाली क्रिकेट क्लबसँग २५ जना खेलाडीहरु छन भने यो क्रम बढिरहेको छ ।

गत वर्ष सबल क्षेत्रीलाई राईजिङ्ग ट्यालेन्टको उपाधी दिईएको थियो भने कुलश अधिकारीलाई क्लबको बेष्ट बलरको उपाधी दिईयो । त्यसैगरि सुजन अघिकारीलाई वेष्ट फिल्डर र विकास तिमिल्सिनालाई बेष्ट अलराउण्डरको उपाधी प्रदान गरिएको थियो ।

क्बलले आगामी दिनमा स्पोन्सर खोज्ने, तालिम कार्यक्रमहरु संचालन गर्नेलगायतका योजनाहरु लिएको उल्लेख गरेको छ ।


क्लिकमान्डु