चेम्बरले भन्यो- बजार अनुगमनका नाममा सरकारले व्यापारीलाई आतंकित पार्यो



काठमाडौं । व्यापारीहरुको छाता संगठन नेपाल चेम्बर अफ कमर्शले बजार अनुगमनका नाममा सरकारले व्यापारीहरुलाई आतंकित पारेको ठहर गरेको छ ।

बजार अनुगमनको नाममा देशभरका व्यापारीलाई सरकारले निरन्तर तनाव दिंदै आएको । र, यसले मुलुकभरका व्यापारीहरु त्रसित भएको चम्बरले जनाएको छ ।

सरकारले हरेक क्षेत्रमा गरेको अनुगमन स्वागतयोग्य कदम भएको उल्लेख गर्दै चेम्बरले अनुगमन मैत्रीपूर्ण तथा जनचेतना जगाउने खालको हुनुपर्ने जनाएको छ ।

स्थानीय प्रशाशनबाट हालैमात्रै राजधानीको दरवारमार्गका ११ जना व्यापारीलाई पक्राउ गरी थुनामा राखेको घटनाप्रति चेम्बरले आपत्ति प्रकट गरेको छ ।

‘कालो बजार ऐनको नाममा व्यापारीहरुलाई थुनामा राखेर कारबाही गर्नु कुनै पनि सन्दर्भमा न्यायोचित देखिंदैन । किनभने संसारभर खुल्ला बजार अर्थतन्त्रको आधारमा बजार चलिरहेको छ । नेपाल पनि डव्लुटिओको सदस्य राष्ट्रको रुपमा रहेको छ । त्यसकारण यस्ता घटनाप्रति नेपाल चेम्वर अफ कमर्स सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छ ।’ जारी विज्ञप्तीमा भनिएको छ ।

राजश्व अनुसन्धान विभाग, उपभोक्ता हित संरक्षण विभाग, जिल्ला प्रशाशन कार्यालयलगायतका सरकारका विभिन्न निकायहरुबाट पटकपटक बजार अनुगमनका नाममा व्यापारीहरुलाई डर त्रास देखाउने काम हुँंदै चेम्बरले जनाएको छ ।

व्यवसायीले कुनै पनि व्यवसाय सुरु गर्नु भन्दा पहिला नै दर्ता गरेर आयकर, मूल्य अभिबृद्धि कर भ्याट, अन्तशुल्कलगायतका कर तिरेर व्यवसाय चलाइरहेको हुने चेम्बरको तर्क छ ।

‘व्यवसायीको मर्यादा तथा साखलाई हलुका तवरले लिन हुँदैन,’ चेम्बरले भनेको छ, ‘यस्ता घटनाले व्यवसायबाट पलायन हुने अवस्था आउने हुँंदा लगानीमा समेत प्रतिकुल अवस्था सृजना हुन जाने हुन्छ । यसकारण यथाशिघ्र दरवारमार्गको यो मुद्धा टुंगोमा पुग्नु जरुरी छ ।’

व्यापारीलाई थुनामुक्त गरी निष्पक्ष रुपमा कारबाही प्रक्रिया अगाडि वढाउन चम्बरले अनुरोध गरेको छ । नत्र बिरोधमा उत्रिने चेम्बरको चेतावनीसमेत दिएको छ ।


पुष्प दुलाल