भारतीय मिडियाको समाचार :चीनबाट खोसिएको बुढीगन्डकी भारतलाई



काठमाडौं । नेपाल सरकारले १२ सय मेगावाट विद्युत् उत्पादन क्षमताको बुढीगन्डकी आयोजनाको निर्माणको जिम्मा भारतीय कम्पनीलाई दिने भएको छ ।

२ दिन अघि चिनियाँ कम्पनी चाइना गेजुवासँग सम्झौता खारेज गरेको थियो ।
पुष्पकमल दाहाल‘प्रचण्ड’ नेतृत्वको सरकारले बुढीगन्डकीको निर्माणको जिम्मा विवादास्पद कम्पनी गेजुवालाई दिने निर्णय गरेको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन हुन दुई साताभन्दापनि कम समय बाँकी रहदा बुढीगन्डकी चिनियाँ कम्पनीलाई दिने सम्झौता खारेज गरेका थिए ।

भारतीय पत्रिका टाइम्स अफ इन्डिया अनुसार बुढीगन्डकी निर्माण गर्ने जिम्मा नेशनल हाइड्रो पावर कम्पनीले पाउने छ ।

स्रोतको दाबी गर्दै दिल्ली र बेइजिङको सयुक्त डेटलाइनमा लेखिएको समाचारमा भारतीय पूर्ण सरकारी कम्पनी नेशनल हाइड्रोले निर्माणको जिम्मा पाउने बताइएको छ ।

देउवा सरकारले बुढीगन्डकी निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिने निर्णय खारेज गरेको विषयमा नेकपा एमालेका अध्यक्ष केपी ओलीले चर्को आलोचना गरेका छन् ।

उनले कमिसन नपाएर सम्झौता खारेज गरेको बताएका थिए । नयाँ सरकार आएपछि अहिलेको सरकारले गरेका निर्णय खारेज गर्ने ओलीले बताएका थिए ।

चिनियाँ कम्पनीलाई दिइएको आयोजना खारेज गरेर भारतलाई दिन लागिएको आशंका भएको समयमा भारतीय मिडियामा आएको समाचारले भने आंशकालाई बल प्र्रदान गरेको छ ।

बुढीगन्डकीमा चिनियाँ कम्पनीसँगको सम्झौता खारेज गर्ने दिन प्रधानमन्त्री अध्यक्ष रहने लगानी बोर्डले अरुण तेस्रो र माथिल्लो कर्णालीको निर्माण गर्ने जिम्मा पाएका भारतीय कम्पनीलाई वित्तीय स्रोतको लागि म्याद थप गर्ने निर्णय गरेका थियो ।


क्लिकमान्डु