७५० मेगावाटको पश्चिम सेती बनाउन कुलमान गरे चिनियाँ थ्री गर्जेजसँग सम्झौता



काठमाडौं । पश्चिम सेती जलविद्युत् आयोजना निर्माणका लागि नेपाल विद्युत् प्राधिकरण र चिनियाँ कम्पनी थ्री गर्जेजका उच्च प्रतिनिधिबीच ज्वाइन्ट भेन्चर एग्रिमेन्ट(जेभिए) भएको छ ।

प्राधिकरणका आयोजित समारोहमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र थ्री गर्जेजका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

कुल ७५० मेगावाट क्षमताको सो आयोजना अगाडि बढाउन जेभिए गर्नुपर्ने थियो । चिनियाँ पक्षले कुल लगानीको ७५ प्रतितशत र प्राधिकरणले २५ प्रतिशत लगानी गर्ने उक्त स्म्झौतामा उल्लेख छ ।

सम्झौताका लागि चिनियाँ उच्चस्तरीय प्रतिनिधिमण्डल बुधबार मात्रै नेपाल आएको थियो । लामो समयदेखि आयोजनाको बारेमा अन्यौलता रहँदै आएको अवस्थामा जेभिएले मार्ग प्रशस्त गरेको प्राधिकरणले जनाएको छ ।

थ्री गर्जेजको ७५ प्रतिशतमध्ये १० प्रतिशतसम्म आयोजना प्रभावितलाई दिइने छ । त्यस्तै, थ्री गर्जेजले आफ्नो सेयरमध्येबाट १४ प्रतिशतसम्म नेपाली लगानीकर्तालाई दिनसक्नेछ ।

थ्री गर्जेजका लगानी विभागका निर्देशक याओ फिक्योङ र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मंगलबार सम्झौतापत्रमा हस्ताक्षर गरे ।

संयुक्त लगानीसम्बन्धी उक्त सम्झौताको अनुमति लगानी बोर्डले गर्नुपर्ने हुन्छ । अनुमतिका लागि अब लगानी बोर्डमा पठाइने प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए ।

‘लगानी बोर्डले स्वीकृति दिएपछि दुबै पक्षले संयुक्त लगानीको कम्पनी दर्ता प्रक्रिया अघि बढाउने छन्,’ अधिकारीले भने ।

संयुक्त लगानीमा बन्ने कम्पनीको नाम ‘वेस्ट सेती हाइड्रोपावर डेभलपमेन्ट लि.’ रहने सम्झौतापत्रमा उल्लेख छ । यो कम्पनीले बिजनेश प्लानहरु पनि तयार गर्ने, आयोजनाका अध्ययन कार्यहरुलाई अघि बढाउने अधिकारीले जानकारी दिए ।

आयोजना निर्माण सञ्चालन स्वामित्व हस्तान्तरण (बुट) मोडलमा गरिने छ ।


पुष्प दुलाल