भारतीय कफीको आयातलाई रोक्न सकिँदैन- कफी विकास बोर्ड



काठमाडौं । सरकारले विदेशबाट आयात भईरहेको कफी रोक्न नसकिने स्पष्ट पारेको छ । विशेषगरि पछिल्ला दिनहरुमा भारतीय कफी आयात भईरहेको थाहा भएपनि सो आयात सोक्न नसकिने राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ ।

कफी दिवसको सन्दर्भमा आयोजना गरिएको पत्रकार सम्मेलनमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले नेपाल खुला बजारको पक्षपाती भएको र सरकारी रेकर्डमा कफी आएको नदेखिएको भन्दै रोक्न नसकिने बताए ।

‘हामी डब्लुटिओको सदस्य भएको हुँदा भारतबाट आउने कफी रोक्न सक्दैनौं, भन्सार वृद्धि गर्न सकिने भएपनि आउने कुरा रोक्न सकिँदैन्,’ गौतलमले भने ।

उनले मुलुकमा आयात हुने तथा निर्यात हुने कफीको मात्रा घट्दै गएको हुँदा स्वदेशमा नै खपत बढिरहेको देखिएको उल्लेख गरेको छ । स्वदेशमा नै कफीको खपत बढिरहेको हुँदा आयात निर्यात दूवैमा कमी आएको बोर्डका कार्यकारी निर्देशक गौतमले बताए ।

‘देशमा कफी क्याफे हाउसहरुको बिस्तारले नेपाली कफीको लोकप्रियता बढ्दै गएको हो,’ उनले भने ।

उनले नेपाली कफी भनेर भारतीय कफी बिक्री गर्ने गरेको गुनासो आएको भन्दै आयातित भारतीय कफीलाई सोहि नाममा नै बिक्री गर्न व्यवसायीहरुलाई आग्रह गरेको बताए ।

त्यसैगरी कफी व्यवसायी कृष्ण घिमिरेले विश्व बजारमा नेपाली कफीको माग बढिरहेको भएपनि उत्पादन हुन नसकेको गुनासो गरे ।

‘हाम्रो कफीको बजारलाई समस्या छैन्, अहिले पनि ६ हजार टनको माग छ, तर उत्पादन बढाउन सकिएको छैन्,’ घिमिरेले भने ।

उनकाअनुसार पछिल्ला दिनहरुमा नेपाली कफीको पनि ब्राण्डिङ्ग हुन थालेको हुँदा नेपालीहरुले स्वदेशमा नै कफी उपयोग गर्न लागेका हुन् । हाल विभिन्न १० वटा कम्पनीले नेपाली कफी स्टोरहरुमा ब्राण्डिङ्ग गरेर बिक्री गरिरहेको जानकारी दिए ।

त्यसैगरी कफी व्यवसायी महासंघका अध्यक्ष ढकेश्वर घिमिरेले नेपाली कफीको गुणस्तर उच्च कोटीको रहेको र अन्य कफीभन्दा अधिक मूल्यमा विश्व बजारमा बिक्री भईरहेको बताए । उनले नेपाली कफी अग्र्यानिक कफी भएको र यो कफी फिल्टर कफीको रुपमा मात्र प्रयोग गर्न सकिने जानकारी दिए ।

बोर्डले यो वर्ष मंसिर १ गतेदेखि लागू हुनेगरि कच्चा कफीको मूल्य गत वर्षको मूल्यलाई नै कायम गरेको जानकारी समेत दिएको छ । बोर्डकाअनुसार पार्चमेन्ट कफी ग्रेड ए अर्गानिक प्रमाणिकरण भएको कफीको मूल्य ४१५ प्रतिकेजी तोकेको छ । त्यस्तै अर्गानिक प्रमाणिकरण नभएको पार्चमेन्ट कफी ग्रेड बीको ४ सय रुपैयाँ तोकेको छ ।

बोर्डकाअनुसार देशभर कुल ४६६ मेट्रिक टन ग्रीन बीन उत्पादन भएको छ, जून गत वर्षको तुलनामा ७ प्रतिशतले अधिक हो । त्यस्तै कफी रोपण क्षेत्रफल बिस्तार हुँदै यो वर्ष २ हजार ६ सय ४६ हेक्टर पुगेको छ ।

हाल मुलुकभर ४२ जिल्लामा कफी उत्पादन हुने गरेको छ भने गुल्मी, ललितपुर र सिन्धुपाल्चोक जिल्लामा अर्गानिक उत्पादन हुने गरेको बोर्डले उल्लेख गरेको छ ।


क्लिकमान्डु