तपाईंको टिभी बन्द भयो ? यसरी छान्नुहोस् सेट टप बक्स, कति पर्छ मूल्य ?



काठमाडौं । सरकारले कात्तिक २९ गतेदेखि धमाधम एनालग केबल टिभी सिग्नल बन्द गराइरहेको छ । पहिलो चरणमा विभिन्न महानगरपालिका क्षेत्रलाई डिजिटलाइज गर्ने उद्देश्यका साथ सरकारले एनालग केबल टिभी सिग्नल बन्द गराएको हो । यस्तो अनुगमनको कार्य निरन्तर जारी राख्ने सूचना तथा संचार मन्त्रालयले जानकारी दिएको छ ।

सरकारले नै एनालग सिग्नल बन्द गराएपछि ग्राहकहरु भने सेट टप बक्सको जोहो गर्न लागिपरहेका छन् । सेट टप बक्स जडान नगरी केवल टिभी सेवा नआउने भएपछि केबल टिभी सेवा प्रदायकहरुले पनि सेटटप बक्स जडानमा तीब्रता देखाएका छन् ।

हाल काठमाडौं उपत्यकामा पहिलो चरणमा सरकारले अनुगमन गर्दै सिग्नल नै बन्द गराएपछि सेट टप बक्सको चर्चा बढेको हो ।

नेपाल केवल टिभी व्यवसायी महासंघका अध्यक्ष सुधीर पराजुलीले पहिलो चरणमा मात्रै करिब १६ लाख वटा सेट टप बक्स आवश्यक पर्ने बताए ।

‘हाल काठमाडौंका १० लाख घरहरुको टिभी सेटहरुमा सेट टप बक्स आवश्यक पर्छ, जसमध्ये करिब ४ लाखवटामा मात्र सेटटप बक्स जडान भईसकेकोछ, अन्यमा जडानको क्रममा छन्,’ पराजुलीले क्लिकमाण्डूसँग भने ।

उनकाअनुसार एउटै घरमा एक दर्जनसम्म टिभी सेटहरु रहेको हुँदा सबैमा जोडेर डिजिटल सेवामा जान केही समय लाग्छ ।

‘एउटा सेट टप बक्स जडान गर्न करिब १ घण्टाको समय लाग्छ, यो आधारमा हेर्दा ग्राहकले ६ महिनासम्म पनि केवल टिभी हेर्न नपाउने अवस्था आउनसक्छ,’ उनले दाबी गरे ।

हाल बजारमा सेट टप बक्स अभाव नभए पनि जडानको लागि समय लाग्ने हुँदा कुनुपर्ने अवस्था छ । अझ एकैपटक माग बढ्दा बजारमा थप समस्या आउन सक्दछ ।

डिस होमका महाप्रबन्धक कल्याण अधिकारीले पनि एकैपटक सेट टप बक्सको माग बढेको बताए । उनकाअनुसार अहिलेको अवस्थामा अधिकतम ३ दिनमा जडान गर्न ग्राहकले कुर्नुपर्ने अवस्था आउनसक्छ ।

‘बजार ह्वात्तै बढेको छ, हामी अहिले दैनिक ७/८ हजार सेट टप बक्स जडान गरिरहेका छौं, अधिकतम ३ दिनसम्म कुर्नुपर्ने हुनसक्छ,’ उनले भने ।

उनकाअनुसार डिसहोमले काठमाडौं उपत्यकामा ग्राहकले चाहेको समयमा नै सेटटप बक्स जडान गर्न थप जनशक्ति परिचालन गरिरहेको छ ।

हाल बजारमा न्यूनतम ३ सयदेखि अधिकतम १ हजार ९ सय ९९ रुपैयाँसम्ममा सेटटप बक्स ग्राहकलाई सेवा प्रदायकहरुले उपलब्ध गराईरहेका छन् भने कुनै केवल टिभी कम्पनीहरुले निःशुल्करुपमा पनि उपलब्ध गराइरहेका छन् ।

सूचना तथा संचार मन्त्रालयका उपसचिव इन्जिनियर अनुप नेपालले पनि हालसम्म जम्मा ३५ प्रतिशतको हाराहारीमा मात्र डिजिटलाइज भएको बताए । इन्जिनियर नेपालले आवश्यकताअनुसार सेट टप बक्स अझै आयात हुन नसकेको भन्दै आयातलाई सरलिकृत गरिनुपर्ने बताए ।

‘डिजिटाइजेनको लागि आवश्यक मात्रामा अझै सेटटपबक्स आईसकेको छैन्, यसको आयात प्रकृयालाई सरलिकृत बनाउनुपर्ने देखिन्छ,’ नेपालले भने ।

उनले अझैपनि ५० लाख सेट टप बक्स आईसक्नुपर्नेमा हाल ३० लाख मात्र आएको हुँदा थप आयात बढाउनुपर्ने बताए ।

पाइन्छ त सेट टप बक्स ?

अधिकांश सेवा प्रदायकले आफूहरुसँग सेट टप बक्स स्टकमा रहेको हुँदा अभाव नहुने दाबी गरेका छन् ।

डिसहोमका महाप्रबन्धक अधिकारीले कम्पनीसँग ४ देखि ५ लाख सेटटप बक्स स्टकमा रहेको हुँदा निरन्तर माग बढे पनि जडान गरिरहेको बताए ।

‘हामीसँग अझैपनि ४/५ लाख सेटटप बक्स छ, र आवश्यकताअनुसार सेवा दिनसक्छौं,’ उनले भने ।

त्यस्तै महासंघका अध्यक्ष तथा सुविसु केवलका अध्यक्ष पराजुलीले पनि कम्पनीसँग १ लाख सेट टप बक्स स्टकमा रहेको जानकारी दिए ।

‘मेरो कम्पनीमा अहिले नै १ लाख सेट टप बक्स छ भने अन्य केवल सेवा प्रदायकहरुसँग पनि सोहि अनुसारको स्टकछ, सेट टप बक्सका कारण नै समस्या आउँदैन्,’उनले दाबी गरे ।

के हो सेट टप बक्स ?

सेट टप बक्स एउटा डिभाइस हो जसले केबल बाट आएको सिग्नललाई तपाईँको टेलिभिजन सेटमा हेर्नयोग्य बनाउँछ । यो बक्स केबल टेलिभिजन, स्याटेलाइट टेलिभिजन, र ओभर दि एयर टेलिभिजन प्रविधिका साथसाथै अन्य प्रविधिमा प्रयोग गरिन्छ ।

यो केवल टेलिभिजन सेवा प्रदायक वा डिटिएच कम्पनीहरुको सिग्नललाई प्राप्त गरेर त्यसलाई डिकोड गर्दै तपाईँको टेलिभिजनमा देखाउने प्रविधियुक्त बक्स हो ।

एउटा टिभी सेटमा एउटा सेटटप बक्स आवश्यक पर्छ भने पछिल्ला दिनहरुमा प्रविधिको विकाससँगै एउटै सेट टप बक्सबाट घरभरीका टिभी सेटहरुमा हेर्न सकिन्छ ।

नेपालमा भने एउटै सेटटप बक्सबाट ३ वटासम्म टिभी हेर्न सकिने किसिमको प्रविधि आइसकेको छ । यस्तो सेट टप बक्स लिँदा समग्रमा सेवाको शुल्क पनि सस्तो पर्ने हुन्छ ।

के हो एनालग प्रविधि ?

एनालग टेलिभिजन निकै पुरानो प्रविधि हो । यसमा अडियो र भिडियोलाई एम्प्लिच्युड वा फ्रिक्वेन्सीमार्फत् सिग्नल टेलिभिजन सेटमा पठाइन्छ । यो एकतर्फी हुन्छ भने तस्बिर र साउन्डको गुणस्तर कम हुन्छ । एनालग केबलमा एउटै केबलबाट धेरै जनाले टिभि हेर्न सकिने हुँदा गुणस्तर कम हुन्छ । यो प्रविधि गुणस्तरहीन भएकाले सन् १९५० को दशकदेखि नै विकसित देशहरुले हटाइसकेका छन् ।

डिजिटल टिभीमा के हुन्छ ?

अडियो र भिडियोलाई डिजिटल प्रशोधन गर्ने र मल्टिप्लेक्स सिग्नल हुने हुनाले डिजिटल टिभीका दर्शकले सफा पिक्चर र गुणस्तरीय ध्वनीमा टिभी हेर्न सक्छन् । सामान्य टेलिभिजनमा पनि गुणस्तरिय दृष्य हेर्न र अडियो सुन्न सकिन्छ ।

डिजिटल टिभीका लागि टिभी महंगो र भर्खरै किनेको हुनु पर्ने होइन । यस प्रविधिमा अनलाइन प्रयोगबाट टिभीबाटै म्यासेज आदान प्रदान, युट्यूव लगायतबाट अनलाइन च्यानल हेर्न, अनलाइन गेम्स, अनलाइन सपिङ लगायतका कार्य गर्न सकिन्छ ।

यसमा आफूले हेरिरहेको च्यानलमा दुई वा सोभन्दा बढी कार्यक्रम हेर्न सकिन्छ, त्यो पनि एसडी, एचडी प्लस, सुपर एचडी, अल्ट्रा एचडी, थ्रिडीजस्ता मल्टिपल हाइ ब्यान्डविथमा हुन्छ ।

कति पर्ला मूल्य ?

एउटा सेटटप बक्सको मूल्य केवल टिभी सेवा प्रदायकहरुको लागि करिब १७ अमेरिकी डलर पर्छ भने डिटिएस सेवाको लागि करिब ३० डलरसम्ममा कम्पनीहरुले आयात गरिहरेका छन् ।

तर केवल टिभी सेवा प्रदायकहरुले ग्राहकहरुलाई बिक्री गर्दा आफूखुशी मूल्य तोक्ने गरेका छन् । कुनै केवल सेवा प्रदायकले ग्राहकसँग पहिले नै चर्को मूल्यमा सेटटप बिक्री गराईरहेका छन भने कुनै सेवा प्रदायकले मासिक किस्तामा नै जोडिने गरि सेटटप बक्स जडान गरिरहेका छन् ।

अधिकांश सेवा प्रदायकहरुले भने आफ्नो केवलको वार्षिक सेवा शुल्कमा सेटटप बक्सको मूल्य समेत जोडेर लिने गरेका छन् । यस्तो शुल्क सेवा प्रदायकले दिने टिभी च्यानलहरुको गुणस्तर र संख्याले निर्भर गर्दछ ।

ग्राहकले कुन छनौट गर्ने ?

अधिकांश केवल टिभी सेवा प्रदायकहरुले उपलब्ध गराउने सेट टप बक्सको गुणस्तर एकै प्रकारको हुन्छ । तर त्यसमा गरिने कोडिङ्ग भने सेवा प्रदायक कम्पनीअनुसार फरक पर्छ ।

कम्पनीहरुले आफ्नो सेवाको लागि चाहिने कन्फिगरेसन अनुसार सेटटप बक्स उपलब्ध गराउँछन् । त्यसैले यसमा सेटटप बक्सको गुणस्तर भन्दा पनि केवल टिभी सेवा प्रदायकले दिने च्यानलहरुको उपलब्धता, एचडी च्यानलहरुको संख्या, आधारभूत सेवा र बिक्रीपछिको सेवा लगायतमा ध्यान दिनुपर्दछ ।

तपाईँले अहिले प्रयोग गरिरहनुभएको केवल सेवा प्रदायकसँग नै सम्पर्क गरेर सेटटप बक्स जडान गर्न सक्नुहुन्छ भने अन्य कम्पनीको सेवा र गुणस्तर चाहनेले नयाँ केवल कम्पनीको सेवा लिन सक्नुहुन्छ । यस्तोमा भने तपाईँले आफुले चाहेअनुसारको गुणस्तर छनौट गरेर हेर्न सक्नुहुन्छ ।

त्यसैगरि डिटिएच सेवा प्रदायक कम्पनी हाल नेपालमा एउटा मात्र भएको हुँदा त्यसको विकल्प भने छैन । नेपालमा डिटिएच सेवा डिस होमले मात्र प्रदान गर्दै आएको छ ।

यो सेवा हेर्दा केहि महंगो देखिएपनि यसको गुणस्तर भने उच्च तहको हुने गर्छ । सीधै सेटेलाइटबाट नै सिग्नल घरमा राखिएको सानो छाता मार्फत टिभी आउने हुँदा यसमा अन्य समस्याहरु आउँदैन् । तर यसको सेवा शुल्क भने अन्य केवल टिभी सेवा प्रदायकहरुको शुल्क भन्दा केहि महंगो हुन्छ ।

तर ग्राहकहरुले जुन सुकै डिजिटल सेवा छनौट गरेपनि त्यसको दिर्घकालिन शुल्क योजना, आफूलाई आवश्यक च्यानलहरुको संख्या, निःशुल्क हेर्न सकिने च्यानलहरुको संख्या, हाई डेफिनिसन (एचडी) च्यानलहरुको गुणस्तर र संख्या, जडान गरेपछिको मर्मत सेवालगायतमा ध्यान दिनुपर्छ ।

त्यस्तै आफुलाई कतिवटा टिभीमा सेवा चाहिएको हो वा कतिवटा सेटटप बक्स आवश्यक पर्दछ भन्ने बारेमा पनि ध्यान दिनुपर्छ । एकै परिवारमा वा घरमा अधिक टिभी सेटहरुमा सेटटप बक्स जडान गर्दा सेवा शुल्क पनि सस्तो पर्ने हुन्छ ।

 


पुष्प दुलाल