साकूरा फुलले यसरी सजिँदैछ विद्यासुन्दरको स्मार्ट सिटी



काठमाडौं । काठमाडौं महानगरपालिकाकाले काठमाडौं शहरलाई स्मार्ट सिटीको रुपमा विकसित गर्ने काम अघि बढाएको छ । स्मार्ट शहर बनाउनका लागि महानगरले हरियाली र बगैंचा बनाउने भएको हो ।

चुनाबका बेला स्मार्ट सिटी बनाउने घोषणा गरेका विद्यासुन्दर शाक्य मेयरमा निर्वाचित भएका थिए । तर, निर्वाचित भएको ६ महिनासम्म पनि महानगरबासीहरु पहिलेको जस्तै धुवाँ धुलोमा बस्नु परेकाले मेयर शाक्यको तीब्र आलोचना हुन थालेको थियो ।

तर, अहिले महानगरले शहरलाई हरियाली र स्मार्ट बनाउनका लागि आइल्याण्ड (ट्राफिक ब्यावस्थापनका लागि निर्माण गरिएको)मा दुबो, फुल, विरुवा रोप्ने कार्यको सुरुवात गरिसकेको मेयर शाक्यले जानकारी दिए ।

शाक्यका अनुसार सडक पेटीमा रुख रोप्ने काम पनि अघि बढिसकेको छ ।

महानगरले सुरुवाती चरणमा सुन्धारा, शहिदगेट, रत्नपार्क, जमललगायतको आइल्याण्डमा बगैंचा बनाउँदै छ । त्यसपछि महानगरभित्रका सबै आइल्याण्ड सजाएर सडकलाई स्वच्छ बनाइने छ ।

आइल्याण्डलाई हराभरा बनाएपछि सडकलाई पनि सुन्दर बनाउने योजना रहेको महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।

‘स्मार्ट सिटीको अवधारण अनुसार काम अगाडि बढाइएको हो, आइल्याण्डको काम सक्ने वित्तिकै सडक किरानमा साकूरा (जापनिज) फुलको विरुवा रोपिने छ,’ कार्कीले क्लिकमाण्डूसँग भने ।

साकूरा फुल काठमाडौंको वातावरणमा सुहाउँदो र सर्लक हुर्किने विज्ञबाट राय प्राप्त भएको महानगरले जनाएको छ ।

सडकमा कति विरुवाको अवश्यक पर्छ भन्ने तथ्य निकाल्ने क्रममा रहेको उनले सुनाए । कार्कीका अनुसार विरुवा १० फिटको दुरीमा रोपिने छ ।

साकूरा फुलका लागि महानगरले नर्सरीसँग छलफल गरिरहेको छ । नर्सरीले विरुवा उपलब्ध गराएसँगै काठमाडौंमा साकूरा रोप्ने कामको थालनी हुने उनी बताउँछन् ।

साकूराको बोट आकर्षक हुने र फुलको चमकले शहरबासीले आफ्ना पिढा भुल्ने उनको दाबी छ ।

धूलोबाट राहत दिने योजना

धूलोबाट ग्रसित नगरबासीलाई महानगरले राहत दिने भएको छ । धुलोबाट राहत दिनका लागि महानगरले जेट (सडकमा पानी हाल्ने मेसिन) खरिद गर्ने कम्पनी छनोट गरिसकेको छ । यस्तै, ब्रुमर खरिदका लागि पनि टेण्डर प्रक्रिया अघि बढाउन लागिएको प्रवक्ता कार्कीले जानकारी दिए ।

‘सडकमा उँठ्ने धुलोका कारण नगरबासीले धेरै सास्ती खेप्नु परेको छ, जनतालाई राहात दिनका लागि ५ वटा जेट खरिद गर्ने सम्झौता भईसकेको छ,’ कार्कीले भने ।

महानगरले जेट खरिद गरेको भोलिपल्टदेखि साँझ र विहान सडकमा पानी हारेर जनतालाई धुलोबाट राहात दिने योजना रहेको उनले सुनाए ।

अघिल्लो बष धुलो टिप्ने मेसिन (ब्रुमर) खरिद गर्न नसकेको महानगरले यस बर्षको हिउँदमा खरिद गर्ने जनाएको छ ।

गत बर्ष महानगरले ब्रुमर खरिदका लागि २ पटक टेण्डर आव्हान गरेको थियो । तर, महानगरले तोकेको मुल्य र टेण्डरमा सहभागिको मुल्यबीच अन्तर हुँदा ब्रुमर खरिद सम्झौता हुन नसकेको कार्कीले बताए ।

ब्रुमर खरिदका लागि टेण्डर आव्हान गर्दा न्युनत मुल्य राखिएको थियो, हाम्रो मुल्यमा कम्पनीहरुले ब्रुमर खरिद गर्न सक्ने वातावरण सिर्जना हुन सकेन,’ उनले भने ।

यो पटक अधिकतम मुल्य राखेर टेण्डर प्रक्रिया अगाडि बढाइने उनको भनाई थियो ।


पुष्प दुलाल