काँग्रेस, फोरम र राजपाबीच सहमति हुने– उपप्रधानमन्त्री गच्छदार



बिराटनगर । उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले प्रदेश नं २ मा नेपाली काँग्रेस, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच सहमति कायम हुने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उनले दुई नं प्रदेशमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारलाई विजयी गराउने सम्बन्धमा तिनै पार्टीबीच छलफल भइरहेको र चाँडै सहमति कायम हुने विश्वास व्यक्त गरे ।

उपप्रधानमन्त्री गच्छदारले मुलुकका अन्य अन्य प्रदेशमा समेत लोकतान्त्रिक शक्तिलाई विजयी गराउन स्थानीयस्तरमा वार्ता एवं छलफल भइरहेकाले केही दिनमा सहमति हुनेछ बताए ।

एक प्रश्नको जवाफमा उनले सरकारले सुरक्षाको सम्पूर्ण संयन्त्र प्रयोग गरी उम्मेदवालाई शान्तिपूर्ण वातावरणमा निर्वाचनमा प्रचारप्रसारको व्यवस्था मिलाइएको जानकारी दिए ।

उपप्रधानमन्त्री गच्छदारले आगामी निर्वाचनलाई शान्तिपूर्ण, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्न र जनताले निर्धक्क रुपले मतदान गर्ने व्यवस्था मिलाउन वर्तमान सरकार कटिबद्ध रहेको बताउँदै आर्थिक संमृद्धि र पछाडि परेका जनताको हकअधिकार दिलाउन जनताले लोकतान्त्रिक गठबन्धनलाई बहुमतको सरकार निर्माण गर्न मत दिने विश्वास व्यक्त गरे ।


क्लिकमान्डु