धितोपत्र बोर्डले दियो कमोडिटी बजारको नियमन गर्न कर्मचारीलाई  तालिम



काठमाडौं । धितोपत्र बोर्डले कमोडिटिज डेरिभेटिभ्स बजारको नियमन जिम्मेवारीलाई प्रभावकारी रुपमा पुरा गर्न बोर्डका कर्मचारीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले एमसिएक्स–भारत –एमसिएक्स इन्डिया) को प्राविधिक सहयोगमा कमोडिटिज डेरिभेटिभ्स बजार विषयक दुई दिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ ।

नेपालमा विगत करिब १० वर्षदेखि संचालनमा रहेको कमोडिटिज डेरिभेटिभ्स बजारलाई नियमनको दायरामा ल्याउने उद्देश्य बमोजिम व्यवस्थापिका संसदबाट पारित भएको वस्तु बजार सम्बन्धी विद्येयक, २०७४ निकट भविष्यमा प्रभावकारी हुने भएकोले बोर्डले ऐनका व्यवस्थाहरु कार्यान्वयनमा ल्याउन आवश्यक वस्तु विनिमय बजार सम्बन्धी नियमावलीको मस्यौदालाई अन्तिम रुप दिन अन्तिम तयारीका सन्र्दभमा कमोडिटिज डेरिभेटिभ्स बजारको नियमन कार्य बोर्डका लागि नयाँ तथा थप प्राविधिक भएकोले यसका लागि पर्याप्त जानकारी प्राप्तिका लागि उक्त कार्यक्रम संचालन भएको हो ।

उक्त कार्यक्रममा एमसिएक्सका प्रतिनिधिद्वय देवज्योति देय र श्रीकान्त कौडिन्याले कमोडिटिज डेरिभेटिभ्स बजारका आधारभूत पक्षहरु, बजारको आवश्यकता तथा फाइदाहरु, बजारमा रहेको जोखिमहरु, कारोवार विधि एंव राफसाफ तथा फछर्यौट प्रक्रिया, वस्तु हस्तान्तरण तथा वेयरहाउजीङ्ग, बजारको कानुनी तथा नियमनकारी मुद्दाहरु , बजारको प्रभावकारी नियमनका लागि नियमन निकायको भूमिका लगायतका महत्वपूर्ण विषयहरुमा प्रस्तुति दिएका थिए ।

बोर्ड अध्यक्ष डा रेवत बहादुर कार्कीले यसअघी सेबीको प्राविधिक सहयोगमा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको स्मरण गर्दै कमोडिटिज डेरिभेटिभ्स बजारको सन्र्दभमा सम्पन्न हुने यस कार्यक्रम पनि अझ बढी प्रभावकारी र उपलब्धिमुलक हुने विश्वास व्यक्त गर्दै कमोडिटिज डेरिभेटिभ्स बजारको विकास, नियमन तथा प्रवद्धन गर्नको लागि भावी दिनमा पनि एमसिएक्स–इण्डिया बाट यसप्रकारको सहयोगको निरन्तर अपेक्षा गरे ।


क्लिकमान्डु