पूर्वाधार विकास कम्पनी स्थापनको संभाव्यता अध्यन गर्दै एनआरएनए



काठमाडौं । गैरआवासीय नेपाली संघको नयाँ कार्यसमितिले आफ्नो २ बर्षे कार्यकालमा गर्ने कामको बिस्तृत विवरण तयार गरेको छ । संघको बुधबार देखी बसेको बैठककले आगामी २ बर्षकोलागि गर्ने योजनाको लिष्ट तयार गरेको हो ।

संघका अध्यक्ष भवन भट्टको सभापतित्वमा नोभेम्बर १५ देखि १७ सम्म भएको बैठकमा वर्तमान कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु संस्थापक अध्यक्ष डा उपेन्द्र महतो पूर्व अध्यक्ष जीवा लामिछाने पूर्व उपाध्यक्ष रामेश्वर साह पूर्व प्रवक्ता डा हेमराज शर्मा लगायतको उपस्थिति थियो ।

बैठकका निर्णयहरु यस्ता छन् ।

– भूकम्प पीडितका लागि गोर्खा जिल्लाको लाप्राकमा ४२ करोडको लगानीमा निर्माण भैरहेको ५७३ घर सहितको लाप्राकनमूनावस्ती यथाशिघ्र सम्पन्न गर्न संघका अध्यक्षको नेतृत्वमा एक समितिको गठन ।

– संघको कार्यालय भवन निर्माणको पहिलो चरणको कार्य आगामी बैशाख सम्म सम्पन्न गरी सचिवालय आफ्नै भवनबाट संचालन गर्ने तयारी भैरहेको छ । पहिलो चरणमा सम्पन्न हुने उक्त भवनको लागि जग्गा सहित करिब २५ करोड रुपैयाँ लाग्ने अनुमान छ ।

– अधिकार सम्पन्न वागमति सफाइ परियोजना अन्तर्गत शंखमुलमा निर्माण भैरहेको एनआरएन पार्क आगामी बैशाखसम्म सम्पन्न गर्ने ।

– संघका अगुवाहरुको नेतृत्वमा नेपालको पूर्वाधार विकासमा उल्लेख्य लगानीको एउटा इन्भेष्टमेन्ट कम्पनी खडा गर्ने निर्णय गरिएको छ । यस बारेमा एक महिना भित्र विस्तृत अध्ययन गरी कार्यक्रम अघि बढाइने छ ।

– गैरआवासीय नेपालीहरुको मूल्यांकन मूलत उनीहरुले व्यक्तिगत, सामुहिक वा संस्थागत रुपमा गरिने लगानी र कल्याणकारी कार्यहरुबाट नै हुने हो भन्ने कुरामा हामी सचेत छौं । अव गैरआवासीय नेपालीहरुले विगतमा भन्दा पनि बढी व्यक्तिगत र सामुहिक रुपमा लगानी गर्न संघले अभिप्रेरित गर्ने छ । गैरआवासीय नेपालीहरुको लगानीमा बैंक, लघु बित्त र सहकारीमा लगानी गरिने छ । नेपालमा लगानी बढाउन र विदेशमा नेपालीहरुको लगानीलाई सुरक्षित र अझै बढी नाफामुलक बनाउन आवश्यक देशहरुसँग बिप्पा सम्झौता, आर्थिक साझेदारी सम्झौता र दोहोरो कर मुक्ति सम्झौता गराउन सरकारसँग मिलेर काम गर्ने ।

– वैदेशिक रोजगार कल्याणकारी कोषलाई ५ करोड रुपैयाँ छुट्र्याटइ त्यसको नियमावली तयार गरी संचालनमा ल्याइने छ । वैदेशिक रोजगारमा गएकाहरुका लागि संचयकोष स्थापना गर्ने अभियानलाई कार्यान्वयनमा ल्याउने ।

– नेपाली नागरिकता सहितका गैरआवासीय तथा नेपाली मूलका विदेशी नेपालीहरुको नागरिकताको निरन्तरताका लागि नीतिगत तहमा विशेष पहल गर्ने ।

– नेपालको संविधानको धारा २९१ ले स्थायी वसोबास अनुमति पाएका नेपाली नागरिकहरुले नेपालमा कुनै पनि पदमा नियुक्ति, मनोनित र निर्वाचित हुन नपाउने व्यवस्था गरेको छ । यस्तो व्यवस्थाले गैरआवासीय नेपालीहरुको नैसर्गिक अधिकार हनन भएको तथा गैरआवासीय नेपालीलाई विदेशी नागरिकता लिन प्रोत्साहित गरेकोले उक्त धारा खारेज गर्न राजनीतिक दलहरुलाई अनुरोध गर्ने ।

– संविधानको धारा १४ ले राजनीतिक बाहेक सबै अधिकार आम नेपाली सरह उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्रदान गर्ने व्यवस्था भैसकेको छ । संविधानको उक्त व्यवस्था ऐनमा सुनिश्चित गर्न अनुरोध गर्ने ।

– विश्वव्यापी मान्यता अनुसार १८३ दिन भन्दा बढी दक्षिण एसियाली मुलुक बाहेकका राष्ट्रमा बसोवास गर्ने विद्यार्थी लगायतका गैरआवासीय नेपालीहरुलाई एनआरएनको परिभाषामा समावेश गरी गैरआवासीय नेपाली ऐनमा परिवर्तन गर्न पहल गर्ने ।

– गैरआवासीय नेपालीहरुले सिकेको ज्ञान, शिप र नव प्रवर्धनलाई नेपालको विकासमा सदुपयोग गर्न संघले संचालन गर्दै आएका निम्नकार्यहरु एउटै छाता भित्र संचालनमा ल्याउनका लागि एनआरएनए एकेडेमीको स्थापना गर्ने ।

– संघले संचालन गर्दै आएका अतिथिदेवो भव, नेपाल फेष्टिवल, नेपाली सामानको प्रवर्धन लगायतका कार्यहरुलाई निरन्तरता दिने ।

– नेपालमा अहिले करिब २०० मेघावाट विद्युतको अभावले लोड सेडिङकायम रहेको तथ्यांकले देखाएको छ । यसलाई हटाउन तुरुन्तै विद्युत उत्पादन बढाउन सकिने अवस्था नभएकाले विद्युतको खपत घटाएर २०० मेघावाट भन्दा बढी उत्पादन बचत गर्न सकेमा राष्ट्रका लागि योगदान हुन सक्छ भन्ने संघको मान्यता छ । यसका लागि एलइडी बल्बको प्रयोगका लागि अभियान संचालन गरेमा छिटै नेपाललाई लोडसेडिङ मुक्त गर्न सकिन्छ । गैरआवासीय नेपाली संघले यस सम्बन्धमा सम्भाव्यता अध्ययन गरी आवश्यक सहयोग गर्ने ।

– संघको विधानमा भिजन २०(२०ले सिफारिस गरेका एनआरएनए फाउन्डेशनको स्थापना गर्ने, संघका सदस्यलाई परिचय पत्र प्रदान गर्ने, विधान सभा आयोजना गर्ने ।

– दोस्रो पुस्ताका गैरआवासीय युवा, महिला, नेपाली भूतपूर्व गोर्खा सैनिक लगायतका गैरआवासीय नेपालीहरुलाई दृश्टिगत गर्दै विभिन्न कार्यक्रम ल्याइने ।

– गैरआवासीय नेपाली संघको एउटा सबैभन्दा महत्वपूर्ण कार्य नेपालीहरुका लागि कल्याणकारी कामहरुको अगुवाइ गर्ने हो । त्यसकालागि संघको केन्द्रले गर्ने नेपाल भित्रका कार्यहरुका अलावा सबै गैरआवासीय नेपाली संघ स्थापना भएका देशहरुलाई कम्तिमा एउटा सामाजिक वा कल्याणकारी काम गराउने गरी कार्यक्रम अगाडि बढाइने छ । गैरआवासीय नेपाली संघ भित्रको महिला समूहले गरिरहेकका कार्यहरुलाई निरन्तरता दिदै अरु नयाँ कार्यहरु पनि थपिने छ र संघका सबै कार्यक्रमहरुको अनुगमन र तथ्यसंकलनलाई व्यवस्थित बनाइने छ ।

– विभिन्न कारणबस मध्यपूर्व तथा मलेसियामा जेल सजाय भोगिरहेका नेपालीहरुको तथ्यांक संकलन गरी उद्दारको कार्यक्रम संचालन गर्ने साथै साउदी अरबमा जन्म कैद भोगिरहेका थानेश्वर भूसाललाई उन्मुक्ति दिलाउन संघले आपतकालिन राहत कोषबाट १२ लाख ५० हजार रुपैया प्रदान गर्ने निर्णय भयो ।


क्लिकमान्डु