सुन्दरीजलमा मेलम्चीको पानी प्रशोधन केन्द्रको सफल परीक्षण



काठमाडौं । मेलम्चीको पानी उपत्यकामा वितरणका लागि निर्माण गरिएको नेपालकै सबैभन्दा ठूलो पानी प्रशोधन केन्द्रको परीक्षण सफल भएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।

सुन्दरीजलमा निर्माण भएको ८ करोड ५० लाख लिटर पानी प्रशोधन केन्द्रका ६ वटै कक्षको परीक्षण सम्पन्न भएको हो । वाग्मतीको पानी लगि प्रशोधन केन्द्र परीक्षण गरिएको थियो । परीक्षणबाट केन्द्र निर्माण सफल भएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले जानकारी दिए ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाबाट २७ किमी लामो सुरुङ मार्ग मार्फत् दैनिक १७ करोड लिटर पानी उपत्यका ल्याइँदैछ । बाँकी ८ करोड ५० लाख लिटर पानी प्रशोधन केन्द्र निर्माण पनि तीव्र गतिमा भइरहेको उनले जानकारी दिए । अर्को प्रशोधन केन्द्र निर्माण पनि विसं २०७५ भदौ मसान्तसम्म सक्ने आयोजनाको लक्ष्य छ ।

‘सुरुङको सुन्दरीजल–सिन्धु ९ किमी मार्ग खनी सकिएको छ, सिन्धु–ग्याल्थुम र ग्याल्थुम–अम्बाथानको १.९० किमी सुरुङ निर्माण मात्र बाँकी छ, कमजोर चट्टानका कारण केही ढिलो भए पनि ढिलोमा चैत अन्तिमसाता अथवा वैशाख पहिलो हप्तासम्म पानी राजधानी आइपुग्छ’–उनले भने ।

मेलम्चीको पानी सुन्दरीजलमा प्रशोधन गरेपछि उपत्यकामा वितरणका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले पाइप बिच्छ्याउने काम अन्तिम चरणमा पुर्याएको जनाएको छ ।

थोक वितरण प्रणालीको ७७ किमिमध्ये ६५ किमिको काम सम्पन्न भएको निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले जानकारी दिए । यसैगरी उपभोक्ताको घर/घरमा पानी पुयाइने वितरण सञ्जालको ६७० किमिमध्ये ६२० किमिको काम सम्पन्न भएको छ ।

बाँकी ५० किमीमध्ये पुस मसान्तसम्म पहिलो चरणको वितरण सञ्जाल निर्माण सम्पन्न गरीसक्ने आयोजनाको लक्ष्य छ । दोस्रो चरणमा थप वितरण सञ्जालको पाइप बिच्छ्याउने काम शुरु गर्ने तयारी भएको बताइएको छ । रासस


क्लिकमान्डु