माथिल्लो तामाकोशीको सुरुङ ब्रेक थ्रु, असारभित्रै ७६ मेगावाट विद्युत उत्पादन



तस्बीरः सचेन गौतम

काठमाडौं । ४५६ मेगावाट विद्युत उत्पादन क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सुरुङ ब्रेक थ्रु भएको छ । उर्जा सचिव अनुप उपाध्याय, तामाकोशी र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायत उच्च अधिकारीको उपस्थितिमा आइतबार बिहान साढे ८ किलोमिटर लामो सुरुङको ब्रेक थ्रु भएको हो।

माथिल्लो तामाकोशी नेपालीकै लगानीमा बनेको अहिलेसम्मको सबैभन्दा ठूलो जलविद्युत आयोजना हो ।

आगामी असारमा आयोजनाले पहिलो चरणमा ७६ मेगावाट बिजुली आउँदो असार भित्र उत्पादन गर्ने लक्ष छ । सुरुङ ब्रेक थ्रु भएसँगै आयोजनाको करिब ९४ प्रतिशत काम सकिएको छ । तीब्र गतिमा काम भइरहेको आयोजना ०७२ को महाभूकम्पका कारण निर्माणकार्यमा ढिलाई भएको थियो । भूकम्पअघि आयोजनाको काम ८५ प्रतिशत सकिएको थियो ।

आयोजनास्थल दोलखा भएकाले माथिल्लो तामाकोशीलाई भूकम्पले प्रभावित बनाएको थियो । आयोजनाको ड्याम दोलखाको लामावगरमा छ ।

३५ अर्ब रुपैयाँमा आयोजना सम्पन्न हुने बताइएको छ । आयोजनामा प्राधिकरण, नेपाल टेलीकम, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष लगायतले लगानी गरेका छन्।

यही माघमा सर्वसाधारणलाई सेयर

आयोजनाले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १ करोड ५८ लाख ८५ हजार कित्ता अर्थात् १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गर्ने भएको हो ।

आयोजनाले सबैले भर्न मिल्नेगरी कुल सेयरको १५ प्रतिशत छुट्याएको छ । आयोजनाले स्थानीयबासीका लागि पनि १० प्रतिशत सेयर दिने तयारी गरेको छ । स्थानीयले दोलखाका सहकारी संस्थामार्फत पनि सेयर लिन सक्ने व्यवस्था गरिएको छ ।

आयोजनाले प्रभावितका लागि जारी पूँजीको १० प्रतिशत अर्थात १ अर्ब ५ करोड ९० लाख बराबरको १ करोड ५ लाख ९० हजार कित्ता सेयर बिक्री गर्ने जनाएको छ । स्थानीय प्रभावितलाई समेत आगामी माघमा नै साधारण सेयर बिक्री गर्न लागिएको हो


पुष्प दुलाल