तपाईंलाई अपरिचित नम्बरबाट फोन आयो ? नउठाउनोस् है, फसिएला नि !



काठमाडौं । तपाईंको मोवाइलमा अपरिचित नम्बरबाट फोन कल आउँछ भने नउठाउनुहोस् । यस्तो फोन अपराधीहरुले गरेका हुन सक्छन् । र, तपाईं अपराधीको जालमा पर्न सक्नुहुन्छ ।

टेलिफोन सेवा प्रदायकको नियामक नेपाल दुरसञ्चार प्राधिकरणले अपरिचित नम्बरबाट आउने फोन कल नउठाउन सर्वसाधारणलार्इ जानकारी गराएको छ ।

प्राधिकरणले सार्वजनिक सूचना नै निकालेर अपरिचित नम्बरबाट आउने फोन कल नउठाउन आग्रह गरेको हो ।

‘पछिल्लो समयमा नेपालका मोवाइल प्रयोगकर्ताको नम्बरमा ‌ओभर द टप सेवा प्रयोग गरी अन नन्, नो कलर आईडी, ०१२३४५६, १२३४५६ र ८८८८८८८८८८ जस्ता अपरिचित नम्बरबाट धम्की दिने, फिरौती माग्ने जस्ता फोन कल आइरहेकाले सरोकारबालाहरुको ध्यानाकर्षण भएको उल्लेख गरेको छ’ प्राधिकरणले भनेको छ ।

प्राधिकरणले यस्ता फोनकलहरुको बारेमा सुरक्षा निकायबाट अनुसन्धान शुरु गरिएको जनाएको छ ।

पछिल्लो समय अपरिचित नम्बरबाट फोन गरी अपराधिक गतिविधि बढ्न थालेपछि प्राधिकरणले उपभोक्ताहरुलाई सचेत गराएको हो ।


क्लिकमान्डु