सूचना प्रविधिमा बैंकहरुले थप लगानी गर्नुपर्ने सरोकारबालाहरुको भनाई



काठमाडौं । पछिल्ला दिनहरुमा साइबर चुनौती बढिरहेको र नेपाली बैंकिङ्ग क्षेत्रमा अझ बढि सुरक्षा चुनौती रहेको सरोकारबालाहरुले बताएका छन् ।

इन्फर्मेसन सेक्यूरिटी रेस्पोन्स टिम, नेपालले काठमाडौंमा आयोजना गरेको साइबर क्राइम एण्ड बैंकिङ्ग सेक्टर इन नेपाल विषयक कार्यशालामा विज्ञहरुले नेपाली बैंकिङ्ग क्षेत्रले सूचना प्रविधिमा थप लगानी गर्नुपर्ने बताए ।

कार्यक्रममा सुचना प्रविधि विभागका महानिर्देशक विरेन्द्र प्रसाद मिश्रले साइबर सुरक्षा पछिल्ला दिनहरुमा बढिरहेको भन्दै यसको बारेमा अझ सचेत हुनुपर्ने बताए । उनले बैंकिङ्ग क्षेत्रमा देखिएको सुरक्षा चुनौतीले अझ बढि समस्या ल्याउन सक्नेतर्फ सबैको ध्यानाकर्षण गराए ।

कार्यक्रममा बोल्दै साइबर सेक्यूरिटी विज्ञ डा. प्रमोद पराजुलीले साइबर सुरक्षामा नेपाल निकै पछाडि रहेको भन्दै नेपाली बैंकहरुले नियमितरुपमा आफ्नो सूचना प्रविधि र उपकरणहरुको अडिट नियमितरुपमा गर्नुपर्ने बताए । डा पराजुलीले रिस्क वेस्ड अप्रोच व्यवसायमा प्रयोग गरिनुपर्ने भन्दै यसले साइबर आक्रमणबाट बच्न सहज हुने बताए ।

त्यसैगरि नेटवर्क इन्जिनियर रामकृष्ण परियारले अझ पनि कमसल किसिमका उपकरणहरु बैंकिङ्ग क्षेत्रमा प्रयोग भईरहेको औंल्याउँदै त्यसले सुरक्षा चुनौती बढाएको बताए । उनले उपकरण तथा सफ्टवेयर खरिद गर्दा सस्तो भन्दा पनि गुणस्तर र सुरक्षित किसिमको खरिद गर्नुपर्ने स्पष्ट पारे ।

सो कार्यशालामा नेपालका विभिन्न बैंक तथा वित्तिय संस्थाहरुका आईटि अधिकारीहरुको सहभागीता रहेको थियो ।


क्लिकमान्डु