तेस्रो महिनामा शोधनान्तर बचतमा, राष्ट्र बैैैंकले भन्यो: अर्थतन्त्र सुधारको बाटोमा



काठमाडौं । असोज महिनामा देशको शोधानान्तर स्थिती बचतमा गएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार असोज महिनामा शोधानान्तर ४ अर्ब २७ करोडले बचतमा फर्केको छ । साउन र भदौ महिनामा शोधानन्तर घाटामा गएको थियो ।

शोधानान्तर बचतमा फर्केपनि चालु खाता भने २१ अर्ब ९४ करोड रुपैयाँले घाटामा गएको छ ।

राष्ट्र बैंकले शोधनान्तर बचतमा गएको तथा कृषि उत्पादन बढेको कारण अर्थतन्त्र सुधारमा आएको बताएको छ ।

‘अहिलेसम्म उपलब्ध समष्टिगत आर्थिक तथ्यांकले आर्थिक वृद्धिको आशावादी परिदृष्य देखाएको छ’ राष्ट्र बैंकले आर्थिक परिदृष्यको प्रतिवेदन सार्वजनिक गर्दै भनेको छ,‘ चार आधारले अर्थतन्त्र राम्रो भएको छ।’

राष्ट्र बैंकले दिएका आधारमा साउन–भदौ महिनामा पर्याप्त वर्षा भएकाले कृषि उत्पादन बढेको,उर्जाको सहज आपूर्ति र चमेलिया लगायतका केही जलविद्युत आयोजनाहरु सम्पन्न हुने क्रममा रहेकाले उद्योगहरुको क्षमता उपयोग बढ्ने जनाएको छ ।

यस्तै होटलहरुमा बुकिङ्ग तथा अकुपेन्सी दर वृद्धि भएसँगै पर्यटन क्षेत्र लगायत सम्वन्धित सेवा क्षेत्रको विस्तार भएको र सिमेन्ट तथा फलामे छड लगायतका निर्माण सामग्री आयातमा भएको वृद्धिले निर्माण कार्यले गति लिएको छ ।

राष्ट्र बैंकका अनुसार असोज मसान्तसम्ममा रेमिटेन्स बृद्धिदर २.६ प्रतिशतले बढेको छ । असोज मसान्तसम्ममा १ खर्ब ७६ अर्ब रुपैयाँ रेमिटेन्स आएको छ । अघिल्लो वर्षको तुलनामा भने रेमिटेन्सको बृद्धिदरको घटेको छ ।

वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकहरुको संख्या (पुनः श्रम स्वीकृति बाहेक) मा कमी आएको र श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा २.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको भने यस्तो बृद्धिदर १६.१ प्रतिशतले घटेको थियो ।

यो वर्ष मलेसिया जाने कामदारको संख्यामा उच्च वृद्धि भएको तर साउदी अरेविया र कतार जानेको संख्यामा गिरावट आएको छ ।


क्लिकमान्डु