नेपालीले बनाएको भोटिङ मेसिनले निर्वाचन आयोगबाट अझै अनुमति पाएन



काठमाडौं । सरकारले मतपत्र छापाई र मतपेटीका खरिदमा निर्वाचनको समयमा अबैं रुपैयाँ खर्च गर्ने गरेको छ । एक पटक छापेको मतपत्र अर्को पटक काम नलाग्ने र उचित व्यवस्थापन हुन नसक्दा मतपेटीका पुनप्रयोग हुने गरेको छैनन् ।

विद्युतिय भोटिङ मेसिनको प्रयोग गर्न सकिए निर्वाचन खर्च गर्न सकिने पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीको बुझाई छ ।

‘एक पटक चुनाव गर्न निर्वाचन आयोगले १२ देखि १३ अर्ब रुपैयाँ खर्च गर्ने गरेको छ, इलोक्ट्रिोनिक भोटिङ सिस्टममा जान सकिएको भए खर्च घट्ने थियो,’ उप्रेतीले भने ।

विद्युतिय भोटिङ मेसिनको पुनप्रयोग गर्न सकिने भएकाले यसमा गरिने लगानी दिर्घकालिन हुन्छ । साथै, मेसिनको प्रयोग हुने भएकाले मत बदर नहुने हुँदा जनताको मतको सहि मुल्याङ्कन हुने उनको बुझाई छ ।

छिमेकी मुलुक भारत र अन्य देशमा प्रविधिको सहयोगमा निर्वाचन हुने गरेका छन् । नेपालको निर्वाचन आयोगले प्रविधिलाई अंगाल्न डराउनुको कारण आफूले बुझ्न नसकेको उनी बताउँछन् ।

नेपाली युवा वैज्ञानिकले बनाए भोटिङ मेसिन

नेपाली युवा वैज्ञानिक रामलक्ष्मण रिमालले चुनावमा प्रयोग हुने विद्युतिय भोटिङ मेसिन निर्माण गरेका छन् । उनीहरुले निर्माण गरेको मेसिन आम निर्वाचनमा प्रयोग हुन सकेको छैन ।

निर्वाचन आयोगले प्रविधिलाई आत्मसाथ गर्न नसक्दा नेपालको आम निर्वाचनमा प्रविधिको प्रयोग हुन नसकेको हो । तर, पनि उनीहरुले निर्माण गरेको प्रविधि विभिन्न राजनीतिक दल, ट्रेड युनियन, विद्यार्थी संगठन, एनआरएनएलगायत ५५ वटा चुनावमा प्रयोग भईसकेको छ ।

मेसिनबाटै ५५ वटा निर्वाचन सम्पन गरिसकेकाले उनीहरु आफ्नो प्रविधि प्रति पूर्ण विश्वस्त छन् । त्यसैले उनीहरुले आसन्न निर्वाचनका लागि कुनै एक निर्वाचन क्षेत्रमा प्रविधिको प्रयोग गर्न निर्वाचन आयोगसँग अनुमति मागेका छन् ।

निर्वाचन आयोगले अनुमति दिएमा नेपालमा निर्माण भएको प्रविधिको प्रयोगबाट सफलतापूर्वक चुनाव सम्पन्न गर्ने उनीहरुको दाबी छ ।

साथै, उनीहरुको प्रविधिमा कुनै प्राविधिक समस्या देखियो भने भोलिका दिनमा चुनाव गर्न लाग्ने सम्पूर्ण खर्च व्यहोर्न तयार भएको प्रतिवद्धता समेत जाहेर गरि निर्वाचन आयोगमा निवेदन दिएको रामलक्ष्मण रिमाल बताउँछन् ।

‘नेपालमा राजनीतिक दलको संख्या धेरै भएकाले मत हाल्दा सानो गल्तिले पनि भोट बदर हुने अवस्था छ, हाम्रो प्रविधिको प्रयोग गरियो भने एक भोट पनि बदर हुने छैनन्,’ उनीहरुले दाबी गरे ।

प्रविधिको प्रयोगबाट भोट हाल्न एकदमै सजिलो छ । स्क्रिनमा क्लिक गरेर भोट हाल्न सकिन्छ । र, गलत ठाउँमा भोट हालिए पनि पुन सच्याउन सकिने सुविधा प्रविधिमा छ ।


क्लिकमान्डु