डेढ वर्षभित्र फेवातालदेखि सराङकोटसम्म केवलकार



काठमाडौं । पोखराको फेवाताल किनारादेखि सराङकोटसम्म निर्माण हुने केवलकारको निर्माणकार्य बल्ल सुरु हुने भएको छ । केबलकार निर्माणका लागि कम्पनीले बटम र टप स्टेशनसम्मको ठेक्का चितवन कोईलाई दिएको हो ।

नेपालको पहिलो केबलकार मनकामना केबलकार निर्माण गर्ने कम्पनी पनि चितवन कोईनै हो । गत वर्षको मंसिर २९ गते केबलकारको भूमि पूजा गरिएको थियो । अवको १८ महिनामा पोखरा जाने स्वदेशी तथा विदेशी पर्यटकले फेवातालदेखि सराङकोटसम्म केवलकार प्रयोग गर्न पाउने छन् ।

चितवन कोईले बटम र टप स्टेशनको काम थाल्दै छ । यो केबलकार निर्माणका लागि अन्नपूर्ण केबलकार र चितवन कोईबीच गत सोमबार औपचारिक हस्ताक्षर भएको हो ।

अन्नपुर्ण केबलकार प्रालिले पर्यटकीय स्थल साराङकोटलाई लक्षित गरेर केबलकार निर्माणको लागि २०७० देखि प्रक्रिया सुरु गरेको थियो । केबलकारमा ७५ प्रतिशत नेपाली व्यवसायी र १५ प्रतिशत विदेशी लगानीकर्ताको र १० प्रतिशत स्थनीयलाई साधारण शेयर जारी गर्नेगरी निर्माण गर्न लागिएको हो ।

कम्पनीले पिल्लर रहेने ठाउँको निजी जग्गा किनिसेकेको र केबलकारको तार पर्ने ठाउँको जग्गाका धनीलाई सेयर दिने तयारी कम्पनीको छ । केबल कार निर्माणका लागि करिब १ अर्व ४० करोड रुपैयाँ खर्च लाग्ने अनुमान कम्पनीको छ ।

अन्नपूर्ण केवलकारमा सनराईज बैंक र राष्ट्रिय वाणिज्य बैंकले सहवित्तियकरणमा ६६ करोड रुपैयाँ लगानी गर्ने छन् । उक्त परियोजनामा नेपाली व्यवसायी कालु गुरुङ तथा जापानी मुलका नेपाली नागरिक टाकासी मियाहारा मुख्य लगानीकर्ता हुन् ।

जापानी कम्पनी निप्पोनको प्रविधिबाट बन्ने २ दशमलव २ किलोमिटर लम्बाई रहने केबलकारका १३ वटा टावर तथा १६ देखि ३६ डिब्बा रहनेछन् ।

पहिलो चरणमा ८ जना यात्रु बस्न सक्ने १७ वटा डब्बा संचालनमा आउनेछ । यात्रुको संख्या बढ्दै जादा आवश्यकता अनुसार डब्बा थप गर्दे लैजाने कम्पनीको योजना छ ।

७ देखि ९ मिनेटसम्मको केबलकारको यात्रामा हिमाल, ताल र पोखराको उत्कृष्ट दृश्यावलोकन हुने भएकाले पर्यटकका लागि नयाँ गन्तब्य बन्ने छ । केबलकारको यात्रामार्फत एकैपटक फेवाताल, शान्ति स्तूपा, हिमश्रृंखला र पोखरा बजारसँगै आसपासका स्थान अवलोकन गर्न सकिनेछ ।

केबलकारको डिब्बाबाटै सूर्र्योदय र सूर्यास्त सहज रुपमा देख्न सकिन्छ । सराङकोटमा दैनिक ३ हजार ५ सय देखि ४ हजार पर्यटक पुग्ने गर्छन् । पोखराबाट सराङकोट पुग्न ट्याक्सीले कम्तीमा १५ सय रुपैयाँ भाडा लिन्छ भने समय ४५ मिनेट लाग्छ ।

सराङकोट सूर्योदय दृश्यावलोकनका लागि प्रख्यात भएकाले बिहान साढे ५ बजेबाट नै केबलकार सञ्चालन गरिने कम्पनीले जनाएको छ ।
नेपालमा संचालनमा रहेको मनकामना र चन्द्रागिरी केबलकारमा जस्तै यसमा पनि सोही प्रविधि अनुसार एउटा तारमा कार झुन्डिने छन् । यो प्रविधिलाई डोपल मेयरको गोन्डोला प्रविधि भनिन्छ ।

कम्पनीका अनुसार १७ वटा डब्बाबाट प्रति घण्टा ५ सय जनालाई सेवा दिन सक्ने बताए । पछि थप गरेर ३५ वटा डब्बा पु¥याउन सकिने योजना छ । एउटा डब्बामा ८ जनायात्रु बस्न सक्ने छन् । वन क्षत्रे पर्ने २४ रोपनी जग्गाको अन्यत्र सट्टा जमिन दिई ४० वर्षका लागि सरकारसंग लिजमा लिएको हो ।

केबलकार क्षेत्रमा १ देखि ८ आना जग्गा पर्नेलाई ५० हजारको शेयर, ८ आना देखि १ रोपनी सम्म जग्गा पर्नेको १ लाख बराबरको शेयर दिने तयारी कम्पनीको छ । १ अर्बको १० प्रतिशत अर्थात १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता शेयर शेयर स्थानीयलाई दिइने तयारी कम्पनीको छ ।


पुष्प दुलाल