संचालनमा रहेका कमोडिटीज एक्सचेन्ज भए अवैध



काठमाडौं । संचालनमा रहेका कमोडिटीज एक्सचेन्ज कानून अनुसार अवैध भएका छन् ।

धितोपत्र बोर्डले वस्तु बजार सम्बन्धी ऐन अनुसार बस्तु बजार सम्बन्धी नियमावली शुक्रबारदेखि जारी गरेको छ ।

नियमावली अनुसार कमोडिटीज एक्सचेन्ज संचालन गर्नको लागि धितोपत्र बोर्डको अनुमति लिनुपर्छ । बोर्डको अनुमति बिना कमोडिटीज एक्सचेन्ज संचालन गर्न पाउँदैन ।

वस्तु बजार सम्बन्धी ऐनमा कमोडिटीज एक्सचेन्ज कम्पनीको चुक्ता पुँजी ५० करोड हुनुपर्ने व्यवस्था छ ।

अर्थमन्त्रालयले जारी गरेको आर्थिक सर्वेक्षणमा तीनवटा कमोडिटीज एक्सचेन्ज संचालनमा थिए । विधेयक आएपछि बन्द भएका एक्सचेन्जहरुपनि संचालनमा आएका छन् ।

कानून बन्नु अगाडि संचालनमा आएका कमोडिटीज एक्सचेन्जको बारेमा केही पनि भएको छैन । ऐन लागु भएसँगै एक्सचेन्ज तथा ब्रोक्ररहरु गैरकानूनी भएका हुन् ।

धितोपत्र बोर्डले जारी गरेको नियमावलीले कमोडिटीज एक्सचेन्ज संचालन गर्नको लागि २५ हजार रुपैयाँ सहित बोर्डमा पूर्व स्वीकृतिको लागि निवेदन दिनुपर्ने छ ।
नियमावली लागु भइसकेको हुनाले संचालनमा रहेका सबै कमोडिटीज एक्सचेन्जले नियम अनुसार अनुमति लिनुपर्ने हुन्छ ।

धितोपत्र बोर्डका निर्देशक तथा प्रवक्ता निरज गिरीले ऐन तथा नियमावली उल्लेख भए अनुसार संचालनको लागि अनुमति लिनुपर्ने बताए ।

‘ऐनले संचालनमा रहेका एक्सचेन्जको बारेमा केहीपनि उल्लेख गरेको छैन’,गिरीले क्लिकमाण्डूसँग भने ।

संचालनमा रहेका कमोडिटीज एक्सचेन्जलाई सबैभन्दा ठूलो चुनौती नै ऐनमा तोकिएको चुक्ता पुँजी पुर्याउनको लागि भएको छ ।

ऐनमा कमोडिटीज एक्सचेन्जको चुक्ता पुँजी ५० करोड तोकिएको छ । ५० करोड पुर्याउनको लागि भने अहिलेका एक्सचेन्जलाई समस्या पर्ने हुन्छ ।


क्लिकमान्डु