एडिबिले ८ नगरपालिका निर्माणमा १५ अर्ब ४० करोड ऋण दिने



काठमाडौं । एशियाली विकास बैंकले क्षेत्रीय शहरी विकास परियोजना कार्यान्वयन गर्न १५ अर्ब ४० करोड रुपैयाँ ऋण सहायता प्रदान गर्ने भएको छ ।

ऋण सहयोगसम्बन्धी सम्झौतामा आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थ सचिव शंकरप्रसाद अधिकारी र उक्त बैंकका देशीय निर्देशक मोख्तर खामुदखानोभले हस्ताक्षर गरेका हुन् ।

आगामी पाँच वर्षभित्रमा वीरगञ्ज, विराटनगर, सिद्धार्थनगर, नेपालगञ्ज, भीमदत्तनगर, धनगढी, गोदावरी र शुक्लाफाँटा नगरपालिकाको शहरी पूर्वाधार निर्माण तथा शहरी सेवा प्रवाहलाई प्रभावकारी तुल्याउन उक्त ऋण खर्च गरिनेछ ।

परियोजनाअन्तर्गत ती ८ नगरपालिकामा २०० किमीभन्दा बढी ढल निकास, २४० किमी सडक सुधार, ४० किमी पैदलयात्री मार्ग निर्माण तथा ४ स्थानमा व्यवस्थित ढंगले फोहर व्यवस्थापन गर्ने स्थल निर्माण गरिनेछ ।

सम्झौतापत्रमा हस्ताक्षर गरेपछि सचिव अधिकारीले परियोजना सम्पन्न भएपछि नगरपालिकाहरुलाई दिगो आम्दानीको स्रोत प्राप्त हुनाका साथै शहरी वातावरण कायम गर्न मद्दत पुग्ने बताए ।

उनले शहरी विकास मन्त्रालय तथा मातहतका निकायलाई समयमै परियोजना सम्पन्न गर्न आग्रह गर्दै विकास निर्माणका कार्यलाई प्राथमिकतामा राखेर कर्तव्यनिष्ठ हुन अनुरोध गरे ।

देशीय निर्देशक खामुदखानोभले नेपाल सरकारको राष्ट्रिय शहरी विकास रणनीति कार्यान्वयनमा मद्दत पुग्ने बताउँदै नेपाल सरकारसँग मिलेर काम गर्न एडिबी सदा तयार रहेको बताएका थिए । रासस


क्लिकमान्डु