‘तामशी’ प्याज भयो ‘राजशी’, काट्दा होइन किन्दै आँशु झर्ने




काठमाडौं । प्याज काट्दा मात्र होइन, अब किन्दा पनि उपभोक्ताको आखामा आँशु आउने भएको छ । केही साता अघिसम्म कालिमाटी तरकारी बजारमा प्रतिकेजी ६० रुपैयाँदेखि ६५ रुपैयाँमा बिक्री भएको प्याज अहिले प्रतिकेजी १ सय ३० रुपैयाँको हारहारीमा पुगेको छ ।

काठमाडौं उपत्यकाभित्रका खुद्रा पसल तथा तरकारी बजारमा अहिले प्याजको मूल्य प्रतिकेजी १ सय ५० रुपैयाँसम्म पुगिसकेको छ ।

अन्तराष्ट्रिय कारण
कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका सूचना अधिकृत विनय श्रेष्ठ कालिमाटी बजारमा आउने मध्ये ९९ प्रतिशत प्याज भारतबाट नै आउने बताउँछन् । उनको यो तर्क अनुसार भारतमा नै प्याजको मूल्य बढेका कारण नेपाली बजारमा मूल्य आकाशिएको हो ।

भारतीय संचार माध्यमहरुका अनुसार गत जुलाई महिनादेखि प्याजको मूल्य बढ्न थालेको थियो । भारतका अधिकांश शहरहरुमा अहिले प्याजको थोक मूल्य प्रतिकेजी ३७ रुपैयाँदेखि ४० रुपैयाँ पुगेको छ ।

भारतकै सबैभन्दा ठूलो कमोडिटी बजार महाराष्ट्रको लासालगाँउ थोक बजारमा प्याजको भाउ २ बर्ष यताकै सबैभन्दा बढी अर्थात प्रतिकेजी ३७ रुपैयाँ भारु पुगेको इकोनोमिक टाइम्स डटकमले उल्लेख गरेको छ ।

खुद्रा बजारमा भने भारतमै पनि प्याजको मूल्य आकाशिएको छ । भारतीय संचारमाध्यमहरुका अनुसार नयाँ दिल्ली, कोलकत्ता, पटना र चण्ढीगढ जस्ता सहरमा प्याजको खुद्रा मूल्य प्रतिकेजी ८० रुपैयाँ भारुसम्म पुगेको छ । यस्तै चेन्नइ र मुम्बइमा खुद्रा मूल्य प्रतिकेजी ७० रुपैयाँ भारुको हारहारी छ ।

हिन्दु धर्माबलम्बीले ‘तामसी भोजन’ भन्ने गरेको प्याज अहिले मूल्य बढेर ‘राजशी भोजन’को बर्गमा परिसकेको छ ।

भारतमै प्याजको मूल्य आकाशिएपछि सरकारले निर्यातमा अघोषित प्रतिवन्ध लगाएको छ । उसले निर्यात शुल्क अत्याधिक राखेर निर्यातलाई निरुत्साहित गरेको हो ।

भारतीय संचारमाध्यमहरुका अनुसार भारतले प्याज निर्यात रोेक्न प्रतिटन ८५० अमेरिकी डलर मूल्य तोकेको छ । यसअघि ब्यापारीहरुले मूल्य तोक्ने गरेका भएपनि निर्यात निरत्साहित गर्न भारतीय सरकारले यस्तो कदम चालेको हो ।

भारतबाट अन्य देशमा प्याज निर्यात गर्दा प्रतिटन ८५० अमेरिकी डलर मूल्य तोकिएपछि नेपालमा त्यसको मूल्य प्रतिकेजी ८७ रुपैयाँ ५५ पैसा हुन्छ । यो मूल्य प्रतिअमेरिकी डलर बराबर १०३ रुपैयाँले हिसाब गर्दा आएको हो । यसबाहेक ढुवानी खर्च र ब्यापारीको नाफा पनि जोड्दा नेपाली बजारमा प्याजको मूल्य अत्याधिक बढेको हो ।

नेपालीले कति खान्छन् प्याज ?
नेपालमा कति प्याज उत्पादन हुन्छ भन्ने यकिन तथ्यांक नेपाल सरकारसँग छैन । कृषि विकास मन्त्रालयका बरिष्ठ कृषि अर्थशास्त्री मणिरत्न अर्याल नेपालमा कति प्याज उत्पादन हुन्छ भन्ने यकिन तथ्यांक नभएको बताउँछन् ।

काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो तरकारी बजार कालिमाटी फलफूल तथा तरकारी बजारले भने त्यहाँबाट विक्री हुने प्याजको तथ्यांक राख्ने गरेको छ । सो बजारका अनुसार २०७३ सालभरीमा गरी कालिमाटीबाट २ करोड ९८ लाख ६६ हजार ९१८ केजी प्याज विक्री भएको छ । सो बर्ष भारतबाट २ करोड ९४ लाख ६६ हजार ८१२ केजी प्याज आयात भएको थियो ।

यस्तै २०७२ सालमा कालिमाटीबाट २ करोड ३२ लाख ८७ हजार केजी प्याज विक्री भएको थियो । यसमध्ये भारतबाट मात्रै २ करोड ३० लाख १८ हजार ९३४ केजी प्याज आयात भएको थियो ।

कालिमाटी तरकारी तथा फलफूल विकास समितिका अनुसार २०७१ सालमा सो बजारबाट २ करोड २३ लाख २१ हजार ५९३ केजी प्याज विक्री भएको थियो । यसमध्ये २ करोड १८ लाख ८३ हजार ४९६ केजी प्याज भारतबाट आयात भएको थियो ।

२ बर्षपछि फेरि रुवायो प्याजले
कृषि विकास मन्त्रालयका बरिष्ठ कृषि अर्थशास्त्री अर्याल प्याजको मूल्य बढ्नुका पछाडि खास २ कारण रहेको बताउँछन् । उनले प्याजको स्टक सकिएको र नयाँ प्याज उत्पादन नभैसकेकोले यो सिजनमा अभाव देखिएको बताए ।

उनले दोस्रो कारणमा चुनाब देखाए । चुनाबको बेलामा भोजभतेर बढी भएको र त्यस्तो भोजभतेरमा माछामासुको प्रयोग बढी भएको उनको तर्क छ । माछामासुमा प्याजको प्रयोग बढी हुने कारणले अहिले अभाव भएर मूल्य बढेको अर्यालले बताए ।

कालिमाटी बजारका सुचना अधिकृत श्रेष्ठ भने भारत सरकारको नीतिका कारण नेपाली बजारमा प्याजको मूल्य बढेको कारण देखाउँछन् । तर, विगत ३ बर्षको मूल्यसुचीले भने यी दुबै निकायका अधिकारीले बताएको भन्दा बेग्लै नतिजा देखाउँछ ।

तथ्यांकले २०७१ सालको असार महिनामा प्याजको मूल्य सो बर्षकै सबैभन्दा बढी अर्थात प्रतिकेजी ५० रुपैयाँ पुगेको देखाएको छ । यो मूल्य कालिमाटीको थोक बजार मूल्य हो । यस्तै सो बर्षको न्यूनतम थोक मूल्य प्रतिकेजी २७ रुपैयाँ र औषत मूल्य प्रतिकेजी ३८ रुपैयाँ भएको पाइएको छ ।

२०७२ सालको असोज प्याज पारखीका लागि कालो महिना जस्तै थियो । सो बर्षको बैशाखमा विनासकारी भूकम्पको मार खेपेका नेपालीलाई असोजदेखि नै भारतले नाकाबन्दी थोपरेर झन पीडा दिएको थियो । सो बर्षको असोज महिनामा प्याजको मूल्य बर्षकै सबैभन्दा बढी अर्थात प्रतिकेजी १४५ रुपैयाँ कालिमाटीको थोक बजारमै पुगेको थियो ।

सो बर्षको फागुनमा भने प्याजको मूल्य सबैभन्दा सस्तो थियो । २०७२ फागुनमा प्याजको मूल्य प्रतिकेजी १५ रुपैयाँसम्ममा झरेको थियो भने सो बर्षको औसत मूल्य प्रतिकेजी ५१ रुपैयाँ ५८ पैसा थियो ।

२०७३ सालमा भने प्याजको अधिकत मूल्य प्रतिकेजी ३५ रुपैयाँ र न्यूनतम प्रतिकेजी २० रुपैयाँ कायम भएको थियो । मूल्यमा स्थीरता देखिएको सो बर्ष प्याजको औषत मूल्य प्रतिकेजी २४ रुपैयाँ ३२ पैसा थियो ।

के गर्दैछ सरकार ?
केही गर्दैछैन । कृषि विकास मन्त्रालयका बरिष्ठ कृषि अर्थशास्त्री अर्याल प्याजमा नेपाल पूरै परनिर्भर भएको कारण बाह्य प्रभावका कारण बढेको मूल्य नियन्त्रण गर्न नसकिने तर्क गर्छन् ।

भारतका कारण नेपाली बजारमा परेको असर न्यूनिकरणको पहल बाणिज्य मन्त्रालयले गर्नुपर्ने हो । बाणिज्य मन्त्रालयको नेपाल तथा भारत ब्यापार सम्बन्धि मामिला हेर्ने उपसचिब तर्कराज भट्ट भारतले प्याज निर्यातमा गरेको नयाँ ब्यवस्था बारे आफूलाई कुनै जानकारी नभएको बताउँछन् ।

‘भारतको नीतिका कारण नेपालमा प्याज आयात प्रभावित भयो भन्ने जानकारी छैन, त्यसैकारण कुनै पहल भएको पनि छैन,’ भट्ट भन्छन् ।

कालिमाटी तरकारी तथा फलफूल विकास समितिका सुचना अधिकारी श्रेष्ठ भने ब्यापारीहरुसँग छलफल भइरहेको बताउँछन् ।

‘ब्यापारीहरुलाई उनीहरुको गुनासो र समस्या लिखित रुपमा पेश गर्नुस् भनेका छौं, उहाँहरुले औपचारिक रुपमा समस्या पेश गरेपछि हामी मन्त्रालय मार्फत समस्या समाधानको पहल गर्छाैं,’ श्रेष्ठले भने ।

सरकारी निकायका आआफ्ना तर्क छन् । ब्यापारीका आफ्नै कुरा छन् । तर, उपभोक्तालाई प्याजको मूल्यले रुवाएको छ । हिन्दु धर्माबलम्बीले ‘तामसी भोजन’ भन्ने गरेको प्याज अहिले मूल्य बढेर ‘राजशी भोजन’को बर्गमा परिसकेको छ । अर्थात मध्यमबर्गीय नेपालीले पनि प्याज खान नसक्ने गरी मूल्य बढेको छ ।


क्लिकमान्डु