चिरिबाबुले पुल्चोक-कुपन्डोल खण्डको फ्लाइओभर नेपाली कम्पनीलाई नै बनाउन दिने




काठमाडौं । ललितपुर महानगरपालिकाले पुल्चोक–कुपन्डोलखण्डमा निर्माण गर्ने भनिएको फ्लाईओभर नेपाली कम्पनीले बनाउने भएको छ । ललितपुर महानगरपालिकाले गठन गरेको विज्ञहरुको टोलीले दिएको सुझावका आधारमा फ्लाईओभरको जिम्मा नेपाली कम्पनीलाई दिन लागिएको हो ।

फ्लाईओभर निर्माणका लागि नेपाली कम्पनी उपयुक्त हुने विज्ञहरुबाट सुझाव आएको ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनल जानकारी दिए ।

‘विदेशीको तुलनामा नेपालीलाई फ्लाइओभरको जिम्मा दिँदा छिटो काम हुन्छ भन्ने सुझाव आएको छ, सोही सुझावका आधारमा नेपाली कम्पनीलाई निर्माणको जिम्मा दिने तयारीमा छौं,’ प्रवक्ता महर्जनले क्लिकमाण्डूसँग भने ।

नेपाली कम्पनीले पीपीपी (सार्वजनिक निजी साझेदारी) अवधारणामा फ्लाईओभर बनाउन सक्छन् । तर, विदेशी कम्पनीले पीपीपी अवधारणामा फ्लाईओभर बनाउन नसक्ने भएकाले नेपाली कम्पनीलाई जिम्मा दिन लागिएको महर्जन बताउँछन् ।

बढ्दो ट्राफिक जामलाई व्यवस्थपन गर्नका लागि पुल्चोक कुपन्डोलखण्डमा फ्लाइओभर निर्माण गर्न लागिएको हो । ललितपूर महानगरका मेयर चिरिबाबु महर्जनले निर्वाचनको समयमा सो क्षेत्रमा फ्लाइओभर बनाउने प्रतिबद्धता जनाएका थिए । सो प्रतिबद्धता अनुसार नै उनले विज्ञ समुह गठन गरेर स्वदेशी वा विदेशी कस्ता कम्पनीलाई निर्माणको जिम्मा दिनु उपयुक्त हुन्छ भनेर अध्ययन गराएका थिए ।

यस्तो फ्लाइओभर कुपन्डोलदेखि पुल्चोकसम्म मात्रै हुनेछ । पुल्चोकदेखि जावलाखेलसम्म फ्लाइओभर बनाउन सांस्कृतिक कारणले नसकिने महानगरको भनाइ छ ।

‘पुल्चोकदेखि जावलाखेल जाने बाटोमा रातो मछिन्द्रनाथको रथ तान्नु पर्ने हुन्छ, फ्लाईओभरको तलबाट रथ तान्न सकिदैन, त्यसकारण कुपन्डोलदेखि पुल्चोकसम्म मात्रै फ्लाइओभर बनाउन लागिएको हो,’ महर्जनले भने ।

मेयर महर्जनले कुपन्डोलदेखि पुल्चोकसम्म फ्लाइओभर बनाउने अबधारणा सार्बजनिक गरे लगत्तै जापानी कम्पनीले ललितपूर महानगर समक्ष निर्माणको प्रस्ताव गरेको थियो । तर, महानगरले गठन गरेको विज्ञ टोलीले पीपीपी मोडलमा बनाउनु उपयुक्त हुने र त्यसका लागि स्वदेशी कम्पनी नै चाहिने राय महानगरलाई दिएको थियो ।

पीपीपी अवधारणामा निर्माण गर्दा कसलाई फाइदा हुन्छ ?

पीपीपी अवधारणमा फ्लाइओभर निर्माण गर्दा महानगरलाई आर्थिक भार हुँदैन । त्यसको लागतदेखि सम्पूर्ण जिम्मा निजी कम्पनीको हुन्छ । सम्झौता अवधिभर फ्लाईओभरको मर्मत संभार कम्पनीले गर्नु पर्नेहुन्छ ।

कम्पनीले लागत उठाउनका लागि फ्लाईओभरमा व्यापारिक गतिविधि संचालन गर्न सक्छन् । फ्लाईओभरमा व्यापरिक गतिविधि संचालन लागि छुट्टयाइएको ठाउँ बापत कम्पनीले महानगरलाई कर तिर्नु पर्छ ।

पीपीपी अबधारणमा बने दुई पक्षबीचको सम्झौता अवधि सकिएपछि फ्लाइओभर महानगरको मातहतमा आउनेछ । फ्लाईओभरमा हुने व्यापारिक गतिविधि पूर्णअधिकार महानगरमा निहित हुनेछ । यसले महानगरको आम्दानीमा पनि बृद्धि हुनेछ ।

फ्लाईओभर किन आवश्यक छ ?

ट्राफिक जाम घटाउनका लागि ललितपुर महानगरले फ्लाईओभर बनाउन लागेको हो । काठमाडौंका सडकमा फ्लाईओभर नभएका कारण ट्राफिक जाम धेरै हुने गरेको विज्ञहरु बताउँछन् ।

फ्लाईओभर निर्माण गरिएमा एकतर्फि गाडीहरु फ्लाईओभरबाट गुड्छन् । अर्को तर्फका गाडीहरु फ्लाईओभर तलबाट गुड्छन् । काठमाडौंमा विशेषगरि मुख्य चोकहरुमा धेरै ट्राफिक जाम हुने गरेको छ । चोकहरुमा चौतर्फी रुटका गाडीहरु एकत्रित हुन्छन् । एकतर्फको गाडी पास गर्नका लागि अर्कोतर्फको गाडी रोक्नु पर्ने हुन्छ । त्यसरी गाडी रोकिदा ट्राफिक जाम हुने गरेको छ ।

एउटा गाडीले सडक पार गर्दा अर्को गाडी रोक्नु पर्ने अवस्थाको सिर्जना नहोस् भन्नका लागि फ्लाईओभर महत्वपुर्ण हुने प्रवक्ता महर्जन बताउँछन् ।

‘काठमाडौंका मुख्य चोकमा फ्लाईओभर निर्माण गर्न सकिए ट्राफिक जाम कम हुन्छ, फ्लाईओभर नभएका कारण जनता ट्राफिक जामको मारमा छन्,’ उनले भने ।


क्लिकमान्डु