एक अर्ब लागतमा मध्यपहाडी लोकमार्गको दिक्तेल-चखेवा सडक कालोपत्रेको काम तीव्र



खोटाङ । मध्यपहाडी लोकमार्गमा पर्ने खोटाङको दिक्तेल-चखेवा सडक कालोपत्रेको काम तीव्रगतिमा अगाडि बढाइएको छ ।

३ वर्षभित्र सम्पन्न गर्नुपर्ने सम्झौताका साथ कालोपत्रेको काम थालिएको र सडक फराकिलो पार्ने, ग्याभियन वाल भर्ने, पुल निर्माण गर्ने, गिट्टीढुंगा फोर्नेलगायतका काम पनि तीव्रगतिमा अगाडि बढाइएको हो ।

करिब ४६ किलोमिटर लामो सडक ५ खण्डमा विभाजन गरेर काम अगाडि बढाइएको सडक आयोजनाका इञ्जिनियर युवराज पाण्डेले जानकारी दिए । गोल्डेन गुड प्रालिले ठेक्का लिएको सडक करिब एक अर्ब रुपैयाँको लगानीमा कालोपत्रे सम्पन्न हुने जनाइएको छ ।

सडकखण्डमा पर्ने कालीखोला, पङ्खुखोला र लप्सेखोलामा निर्माण गरिने पुलको समेत सम्झौता भएर काम अगाडि बढेको जनाइएको छ । कालोपत्रेको काम शुरु भएसँगै मध्य पहाडी लोकमार्गले छोएका दिक्तेल, नेर्पा, च्यानडाँडा र निर्मलीडाँडाका स्थानीयवासीले गाउँमै रोजगारीसमेत पाएका छन् ।

धुलाम्मे तथा हिलाम्मे सडक कालोपत्रे हुनुका साथै सडक आसपासका कामदारले गाउँमै रोजगार पाएपछि हर्षित समेत भएका छन् । सडक आसपासमा घरजग्गा पर्ने स्थानीयलाई मुआब्जासमेत वितरण गरिसकिएको जनाइएको छ ।

यसअघि, गत वर्ष कालोपत्रेको काम शुरु गर्नासाथ आसपासका जग्गा धनीले मुआब्जा माग गर्दै केहीदिन निर्माण कार्य अवरुद्ध पारेका थिए । स्थानीयको अवरोधपछि जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय÷सर्वपक्षीय भेलाले मुआब्जा दिलाउन भौतिक योजना तथा व्यवस्था मन्त्रालयसमक्ष अनुरोध गर्ने निर्णय गरेपछि कालोपत्रेको काम तीव्रगतिमा अगाडि बढेको हो ।

सडक निर्माणको क्रममा सडकसँगै काटिएको आफ्नो घरजग्गाको मुआब्जा उपलब्ध गराउन माग गर्दै जग्गाधनी दिनदिनै प्रशासन धाउने गरेका थिए ।

सडकको बीच भागदेखि ३१/३१ मिटर दाँयाबाँया बाटो छाड्नुपर्ने सडक विभागले बताएपछि आफूहरुले आन्दोलन शुरु गरेको जग्गा धनीहरुले बताएका थिए । रासस


क्लिकमान्डु