व्यावसायिक चिया खेतीबाट भविष्य बनाउँदै किसान



इलाम । इलाम नगरपालिका–१ की मिलनकुमारी खत्रीलाई १५ वर्षअघिसम्म चियालाई ओइलाएपछि राखेर लामो समय प्रयोग गर्न सकिन्छ भन्ने थाहा थिएन । चियाको मुना टिपेर तत्कालै प्रशोधन गरेको मात्र चिया हो भन्नेबारे मात्र उनलाई पत्तो थियो ।

गाउँकै अन्य बासिन्दाले जानकारी दिएपछि चियालाई ओइलाएर राख्दा अझै राम्रो हुने खत्रीलाई थाहा भयो ।

‘त्यति बेला थोरै मूल्यमा मात्रै चिया बिक्थ्यो,आर्थिक स्थिति राम्रो थिएन । त्यसैले घरायसी सामग्री सटहीकै लागि पनि चिया सुकाउने काम गर्न थाल्यौँ,’ उनले भनिन् ।

चियाखेतीबाट आम्दानी लिन सकिन्छ भन्ने थाहा नभएपछि खत्रीले वस्तु सटहीकै लागि मात्रै चिया सुकाउँथिन् ।

‘चियाको दाम त्यति बेला प्रतिकिलो आठ रुपैयाँ थियो, हामी बिक्री गर्दैनथ्यौँ,’ उनले भनिन् ।

थोरै बारीमा पराम्परागत शैलीमा गरिँदै आएको चियाखेती केही समयपछि गाउँभर विस्तार हुन थाल्यो । उनका अनुसार चिया बनाउन थालेपछि अन्य गाउँबाट पनि माग आउन थाल्यो ।

‘चिया रोपेको तीन/चार वर्षपछि मात्रै नगदमा बेच्न थाल्यौँ, हामी त्यति बेला घाममा मात्र चिया सुकाउथ्यौँ तर पानी परेको बेला भने आगोमाथि फलामको पातामा राखेर सुकाउथ्यौँ,’ उनले भनिन् ।

घरेलु तथा साना उद्योग विकास समितिबाट उद्योग दर्ता गर्नुपर्ने र त्यसबापत प्राविधिक शिक्षा पनि लिन मिल्ने सुनेपछि उद्योग दर्ताका लागि खत्री सदरमुकाम आर्इन । चिया उद्योग दर्ता गराएपछि सेवा सुविधा पाइने भएपछि उनी सदरमुकाम आर्इन ।

‘त्यतिबेला दुई हजार पुरस्कार पाएकी थिएँ, त्यसले थप हौसला बढायो,’ उनले विगत सम्झिर्इन् ।

अहिले खत्रीले आफ्नो र भाडामा गरी नौ सय रोपनी जग्गामा चियाखेती गरिरहेकि छिन् । चिया बगानसँगै उनकै चिया प्रशोधन उद्योग पनि छ ।

‘वार्षिक तीन लाख रुपैयाँदेखि चार लाख रुपैयाँसम्म नाफा हुन्छ,’ उनले भनिन्।

उनले चिया विदेशमा समेत निर्यात गर्दै आएकि छिन् ।

खत्री राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट समेत सम्मानित भइसकेकि छिन् । लेकाली कृषि सहकारी संस्थामा आबद्ध उनले चियाकै लागि उन्नति परियोजनाबाट ८० लाख रुपैयाँको परियोजना प्राप्त गरेकि छिन् ।

यस्तै, सूर्योदय नगरपालिकाका काजीमान कागतेले पनि २५ वर्षअघि आफ्नै पाँच रोपनी जग्गामा चियाखेती शुरु गरे। शुरुमा आफैँले प्रयोग गर्न मात्रै खेती गरेका कागतेले चियाको माग बढ्दै गएपछि खेतीको विस्तार गरे । हाल ८० रोपनी आफ्नै जग्गामा चियाखेती गरेका कागतेको दैनिकजसो २०० किलोसम्म हरियोपत्ती उत्पादन गर्छन् ।

‘चियाले नै परिवार पालेको छु,’ कागतेले भने ।

झुल्के घाम लघु चिया उद्योगका सदस्य कागतेले चियाखेतीकै लागि उन्नति परियोजनाबाट १६ लाख रुपैयाँको परियोजना प्राप्त गरेका छन् । चियाखेतीको विकल्प नभएको उनको भनाइ छ ।

खत्री र कागते प्रतिनिधि पात्र मात्र हुन् । चियाखेतीबाट मनग्य आम्दानी गर्ने किसान थुप्रै छन् । विभिन्न संघ संस्थाले तालीमको व्यवस्था गर्न थालेपछि इलाममा चिया उत्पादनमा सुधार आएको चिया उत्पादन जिल्ला कषि सहकारी संघका उपाध्यक्ष पदमबहादुर तामाङ बताउँछन् । चालिसवटा सहकारीको छाता संगठन रहेको सो संस्थाले उन्नति परियोजनासित समन्वय गरेर काम गर्दै आएको छ ।

‘वर्षेनी १० प्रतिशतका दरले चिया उत्पादन बढ्ने गरेको छ,’ उनले भने।

चियाखेतीको अवलोकन गर्न बाह्य पर्यटक आउने गरेका केन्द्रीय चिया सहकारी संघका महासचिव रविन राई बताउँछन् ।

अहिले ललितपुर, रामेछाप, कास्कीलगायत जिल्लामा समेत चियाखेती गर्न थालिएको छ । देशभर करिब ९० हजार व्यक्तिले चियाबाट रोजगारी पाएका छन् भने २० हजारभन्दा बढीले चियाको व्यावसायिक खेती गर्दैआएका छन् । नेपालमा ८६ वटा साना उद्यम छन् ।

नेपालमा निजी क्षेत्रबाट ६७ प्रतिशत र सरकारी क्षेत्रबाट ३३ प्रतिशत चिया उत्पादन हुन्छ । संघका अनुसार नेपालमा उत्पादित चिया १० प्रतिशत मात्रै नेपालमा खपत हुने गरेको छ भने बाँकी ९० प्रतिशत विदेश निर्यात हुन्छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमका अनुसार चिया उत्पादन बढाउनकै लागि चिया क्षेत्र घोषणा भएका बाहेकका जिल्लामा समेत चियाखेती विस्तार गर्नका लागि प्रवद्र्धन गरिएको छ । त्यस्तै बोर्डले चियाको गुणस्तरको वृद्धि गर्नका लागि वर्षेनी तालीम तथा परामर्शको कार्यक्रम सञ्चालन गर्दैआएको छ ।

बोर्डका अनुसार नेपालमा आव २०७३/७४ मा २७ हजार ६८८ हेक्टर जमिनबाट दुई करोड ४२ लाख ७३ हजार ७४४ किलो चिया उत्पादन भएको थियो । देशकै सबैभन्दा बढी चिया उत्पादन हुने जिल्लामा झापा, इलाम, पाँचथर, तेह्रथुम रहेका छन् ।


क्लिकमान्डु