केपी ओलीको प्रदेशमा बिजुलीको माग ह्वात्तै बढेपछि प्राधिकरणलाई पर्यो यस्तो आपत्त



काठमाडौ । प्रदेश नं १ मा बिजुलीको माग ह्वात्तै बढेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको स्थायी घर भएको क्षेत्रमा यसरी बिजुलीको माग बढ्दै गएपछि नेपाल विद्युत प्राधिकरणलाई माग व्यवस्थापन गर्न हम्मेहम्मे भएको छ ।

प्राधिकरणकाअनुसार पूर्वाञ्चलमा यसवर्ष मात्रै २५ प्रतिशतको हाराहारीमा बिजुली माग बढेको छ । मेची र कोसीको उच्चतम माग २२५ मेगावाट पुगेको छ । गत वर्ष २०० मेगावाटको हाराहारीमा रहेको थियो ।

एकै वर्ष २५ मेगावाट विद्युत्को बढी माग आएपछि प्राकिरणलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा ठूलो समस्या आइपरेको बताइएको छ ।

तर प्राधिकरणका उच्च अधिकारी भने व्यवस्थापनको प्रयास भइरहेको भन्दै कुनै पनि विषयमा सार्वजनिक जानकारी दिन तयार देखिएको छ ।

१० जिल्लाका १७ वितरण केन्द्रको विद्युतको माग एकाएक बढेपछि व्यवस्थापनमा समस्या पैदा भएको हो ।

पूर्वाञ्चलमा निजी क्षेत्रले निर्माण गरेका १३ जलविद्युत केन्द्रबाट उत्पादित तथा भारतबाट आयातित विद्युतबाट माग र आपूर्ति व्यवस्थापन गरिएको छ । माग बढी भएको सन्दर्भलाई व्यवस्थापन गर्न समस्या पैदा भएको छ ।

प्रदेश नं १ को माग व्यवस्थापन प्रभावकारी नहुँदा लो भोल्टेजमा विद्युत् प्रवाह भइरहेको छ । उद्योग धन्दा चलाउनसमेत समस्या भएको छ ।

भारतबाट १३२ केभी क्षमतामा कटैया–दुहबी प्रसारणलाइनबाट ११० मेगावाट विद्युत् आयात गरिएको छ । निजी क्षेत्रले ६१.२ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । केन्द्रीय प्रसारणबाट लिएको ४५ मेगावाटबाट आपूर्ति व्यवस्थापन गरिएको छ ।

धेरै स्थानमा ट्रान्सफर्मर ओभरलोड भएका छन् । यस्तै सवस्टेशनको क्षमतामा समेत ठाँउ ठाँउमा समस्या आएका छन् । समस्या आएका स्थानमा समेत समाधानका लागि पहल भइरहेको बताए पनि ठोस रुपमा समस्या समाधान भएको छैन ।

प्रदेश नं १ मा ५ लाख ७७ हजार ९५ ग्राहक छन् । जसमध्ये ५ लाख २७ हजार १ सय ५२ घरायसी ग्राहक र ४९ हजार ८ सय २० औद्योगिक ग्राहक छन् ।


पुष्प दुलाल