चुनावपछि ह्वात्तै घट्यो तरकारीको मूल्य, के को भाउ कति घट्यो ?



काठमाडौं । चुनाव सकिएलगतै तरकारीको मूल्यमा घटेको छ । मूल्य घटेसँगै उपभोक्ताहरु राहतको महशुस गर्न थालेका छन् ।

चुनाव अघिसम्म कालिमाटीमा नै ९९ रुपैयाँ प्रतिकेजी बिक्री भइरहेको गोलभेडा अहिले ६८ रुपैयाँमा बिक्री भइरहेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
पछिल्लो समय कालिमाटी बजारमा प्याजको मूल्य घटेर ८९ रुपैयाँ प्रतिकेजी पुगेको छ । केही समयअघि कालिमाटीमा प्याजको मूल्य ९९ रुपैयाँसम्म पुगेको थियो ।

यस्तै गाजर ९८ रुपैयाँ प्रतिकेजीबाट ७८ रुपैयामा झरेको छ । बन्दा ४२ रुपैयाँ प्रतिकेजीबाट ३८ रुपैयाँमा पुगेको छ ।

स्थानीय काउली हाल कालिमाटी बजारमा प्रतिकेजी २२ रुपैयाँमा बिक्री भइरहेको छ भने तराइको काउली १९ रुपैयाँ प्रतिकेजीसम्ममा बिक्री भैरहेको छ ।

मूला ३८ रुपैयाँमा विक्री हुने गर्थ्यो भने अहिले प्रतिकेजी २८ देखि ३३ रुपैयाँसम्ममा बिक्री हुने गरेको विकास समितिका सूचना अधिकृत विनय श्रेष्ठले जानकारी दिए ।

यस्तै भन्टा ३८ रुपैयाँ प्रतिकेजीबाट झरेर ३३ रुपैयाँमा पुगेको छ । घिउ सिमी ७२ रुपैयाँ प्रतिकेजी विक्री हुने गर्थ्यो भने अहिले ३८ रुपैयाँमा बिक्री हुन थालेको छ ।

पछिल्लो समय कालिमाटी बजारमा परवल ७२ रुपैयाँ प्रतिकेजी, लौका र हरियो फर्सि ३८ रुपैयाँ प्रतिकेजी, पाकेको फर्सी २२ रुपैयाँ प्रतिकेजी, ब्रोकाउली ५८ रुपैयाँ प्रतिकेजी र भिण्डी ७८ रुपैयाँ प्रतिकेजी बिक्री भैरहेको कालिमाटीका विक्रेताहरु बताउँछन् ।

त्यसैगरी बकुला ८५ रुपैयाँ प्रतिकेजीबाट झरेर ७५ रुपैयाँ प्रतिकेजीमा पुगेको छ । च्याउ १ सय ६५ रुपैयाँबाट घटेर १ सय २५ रुपैयाँमा झरेको छ ।

काक्रो, आलु र परवरको मूल्य भने केही दिन यता आकासिएको छ । काँक्रो प्रतिकेजी ४८ रुपैयाँबाट बढेर ५२ रुपैयाँ प्रतिकेजी पुगेको छ । परवर ५८ रुपैयाँ प्रतिकेजीबाट बढेर ७२ रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको छ । त्यस्तै, आलु ३२ रुपैयाँ प्रतिकेजीबाट बढेर २६ रुपैयाँ पुगेको छ ।


पुष्प दुलाल