सुविधा सम्पन्न स्याङयोङको ‘नयाँ रेक्सटन’ सार्वजनिक, मूल्य कति ?



काठमाडौं । कोरियाली एसयुभी गाडी निर्माता स्याङयोङको नयाँ रेक्सटन नेपाल भित्रिएको छ । नेपालका लागि स्याङयोङ मोटर्सको आधिकारिक विक्रेता आइएमएस ग्रुप अन्तर्गतको आइएमएस मोटर्सले नयाँ विलाशी रेक्सटन गाडी भित्र्याएको हो । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा ६ स्पीड म्यानुअल र ७ स्पीड अटोमेटिक ट्रान्समिसनका ७ सिटर रेक्सटन आएको हो ।

इएक्सडीआइ २ सय २० डिजेल इन्जिन र मर्सिडीज–बेन्न ७ स्पीड अटोेमेटीक ट्रान्समीसनसहितका गाडी नेपाली बजारमा ल्याउन पाउँदा खुसी लागेको आइएमएस मोटर्सका अध्यक्ष दिपक मलहोत्राले बताए । सवारी पारखीहरुले सार्वजनिक गरिएको उक्त गाडी रुचाउनेमा विश्वस्त रहेको उनको भनाइ छ ।

“गाडीका लागि यसको रिसेल भ्यालु नै सबैभन्दा महत्वपूर्ण हुन्छ,” उनले भने, “स्याङयोङले त्यसका लागि आवश्यक पर्ने आधार स्पेयर पार्टस, सर्भिस लगायत सुविधा तयार गरि सकेको छ ।” नयाँ गाडीले आरामदायी परिवर्तनको अनुभव दिँदै गतिशील ड्राइभिङको लागि क्षमता बढाउने बताइएको छ । नयाँ रेक्सटनको डिजाइनलाई ‘मेजेस्टीक थ्रीलिङ’ विषयअन्तर्गत परिकल्पना गरिएको छ । जसले गतिशील छवि दिनका साथै उच्चतम सुविधा प्रदान गर्ने कम्पनको दाबी छ ।

गाडीका विशेषताहरुमा गतिशील र विशाल फ्रन्ट लुक रहेको छ । साथै एलइडी-डीआरएल, टर्क लाइट, ब्रेकलाइट, लाइसेन्स प्लेट लाइट उपलब्ध छ । गाडीमा ४ डब्लूडी टेक्नोलोजी, रियर व्हील ड्राइभ मोड, फ्रन्ट व्हील डबल वीसबोन र रियर व्हील मल्टी–लीङक इन्डीपेन्डेन्ट सस्पेन्सनले उच्चतम ड्राइभीङ स्थीरता र ड्राइभीङ अनुभव प्रदान गर्ने बताइएको छ ।

सुरक्षाका हिसाबमा यो गाडी क्लासमै उत्कृष्ट रहेको छ । नयाँ रेक्सटनमा ९ वटा एयरब्याग र क्वाड फ्रेम (उत्कृष्ट पाश्र्व टकराव सुरक्षा) प्रयोग गरिएको छ । सुरक्षाको लागि इलेक्ट्रीक ब्रेक-फोर्स डिस्ट्रीब्युशन (इबीडी) र एन्टी–लक ब्रेक्स (एबीएस), एन्टीरोल ओभर प्रोटेक्शन (आरपी) लगायत ब्रेकहरु उपलब्ध छन् ।

यसका साथै रेक्सटनमा ८ इन्चको एचडी स्क्रीन, इन्फिनीटीको प्रिमियम १० स्पीकर सीस्टम, स्वचालित ढोका, सहज पहुँच भएको पूर्ण स्वचालित एयर कन्डिशन, पछाडि २२० भोल्टको इन्भर्टर र सामान राख्न र निकाल्न स्मार्ट टेलगेट रहेको छ ।

रेक्सटन विभिन्न ३ रंगमा उपलब्ध रहेको र उपभोक्ताको चाहना अनुसार अन्य रंगहरुमा समेत ल्याउन सकिने कम्पनीले जनाएको छ । ६ स्पीड म्यानुअलको १ करोड ११ लाख ९९ हजार र ७ स्पीड अटोमेटिकको १ करोड १९ लाख ९९ हजार रुपैयाँमा मूल्य तोकिएको छ । उपलब्ध गरिएको कम्पनीले जानकारी दिएको छ । कोरिया एसयुभी रेक्सटनको खरिदमा ३ वर्ष वा ६० हजार किलोमिटरको सर्भिस वारेन्टी रहेको छ ।


क्लिकमान्डु