साञ्जेनको ८७ लाख ६० हजार कित्ता साधारण सेयर आउँदै, बोर्डले दियो अनुमति



काठमाडौं । चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीले निर्माण गरिरहेको साञ्जेन जलविद्युत् कम्पनीले साधारण सेयर निस्काशनको स्वीकृति पाएको छ ।

नेपाल धितोपत्र बोर्डले सो कम्पनीलाई साधारण सेयर निस्काशनको अनुमति दिएको हो ।

पहिलो चरणमा कम्पनीले कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, साञ्जेन जलविद्युत कम्पनीका कर्मचारी, नेपाल विद्युत प्राधिकरणका कर्मचारी, चिलिमे जलविद्युत कम्पनीका कर्मचारी, साविक जिल्ला विकास समिति रसुवा र साविक चिलिमे गाविसका कर्मचारीका लागि साधारण सेयरको निस्काशनको स्वीकृति पाएको हो ।

पहिलो चरणमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता तथा कर्मचारीलाई, सेयर निष्कासन गरिने कम्पनीले जनाएको छ ।

बोर्डबाट स्वीकृति पाएको ६० दिनभित्र पहिलो चरणको ८७ लाख ६० हजार कित्ता साधारण सेयर बिक्री गरिने छ ।

सञ्चय कोषका सञ्चयकर्ताका लागि १९.५ प्रतिशत, त्यहाँ कार्यरत कर्मचारीका लागि १ प्रतिशत र कम्पनीमा कार्यरत कर्मचारीका लागि ३.५ प्रतिशत सेयर छुट्ट्याइएको र उनीहरुलाई बिक्री गरेपछि स्थानीय प्रभवितलाई १० प्रतिशत र आम नेपालीका लागि १५ प्रतिशत सेयर निस्काशन गर्ने कम्पनीको तयारी छ ।

कम्पनीले रसुवामा निर्माणाधीन ५७.३ मेगावाटका माथिल्लो र तल्लो साञ्जेन जलविद्युत आयोजना निर्माण गरिरहेको छ । सो मध्ये माथिल्लो साञ्जेन निर्माणको अन्तिम चरणमा पुगेको छ ।

गोरखा भूकम्प र भारतीय नाकाबन्दीका कारण समस्यामा परेको आयोजनाले पछिल्लो दिनमा निर्माण कार्यलाई तिव्र पारेपछि सफलता हासिल गरेको कम्पनीका प्रमुख किरण श्रेष्ठले बताए ।


क्लिकमान्डु