रघुगंगा गाउँपालिका साक्षर घोषणा, ९५ प्रतिशतभन्दा बढी साक्षर



म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकालाई बुधबार साक्षर घोषणा गरिएको छ । रघुगंगा-५ झिँ, वडा नं ६ पाखापानी र वडा नं ७ चिमखोलासँगै समग्र गाउँपालिकालाइ नै साक्षर घोषणा गरिएको हो ।

८ वटा वडा रहेको रघुगंगाका ५ वटा वडालाई यसअघिनै साक्षर घोषणा गरिएको थियो । १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशतभन्दा बढी जनसंख्याले अंक, अक्षर लेखपढ गर्न सक्ने भएको आधारमा साक्षर घोषणा गरिएको जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठले जानकारी दिए ।

५ नम्बर झिँका ९५.१०, पाखापानीका ९५.५९ र चिमखोलाका ९५.५५ प्रतिशत लक्षित समुदाय साक्षर बनेको शिक्षा कार्यालयको तथ्यांकको आधारमा घोषणा गरिएको हो ।

म्याग्दीका ६ वटा स्थानीय तहमध्ये बेनी नगरपालिका, रघुगंगा, अन्नपूर्ण र मालिका गाउँपालिकासहित ४१ वटा वडालाई साक्षर घोषणा गरिएको छ । थप ४ वटा वडा र २ गाउँपालीकालाई साक्षर घोषणा गर्न बाँकी छ । म्याग्दीमा ४५ वटा वडा छन् ।

मंगला गाउँपालिकाका २ वटा वडालाई मंसिर २९ र धौलागिरिको २ वटा वडालाई पुस १४ गते तथा माघ ८ गते म्याग्दीलाई नै साक्षर जिल्ला घोषणा गर्ने तयारी भएको जिशिअ श्रेष्ठले बताए । साक्षर घोषणासँगै पहिले लेखपढ गर्न जानेकाको सिकाइलाई निरन्तरता र क्षमता अभिवृद्धिका लागि सिकाइ केन्द्र सञ्चालन गरिने शिक्षा कार्यालयले जनाएको छ ।

पाखापानीस्थित अमर मावि परिसरमा आयोजित घोषणा कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले साक्षर जिल्ला घोषणासंगै म्याग्दीको सामाजिक प्रतिष्ठामा बढोत्तरी हुने बताउँदै घोषणालाई व्यावहारिकरुपमा कार्यान्वयन गर्न जोड दिए ।

गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीको अध्यक्षता र अमर मावि पाखापानीका प्रधानाध्यापक युबहादुर गर्बुजाको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय अधिकारी यामप्रसाद सुवेदी, प्रमुख प्रशासकीय अधिकृत नारायण चापागाँई, वडा अध्यक्षलगायत जनप्रतिनिधि तथा विभिन्न राजनितिक दलका प्रतिनिधि, शिक्षक, विद्यार्थीको उपस्थिति रहेको थियो । रासस


क्लिकमान्डु