२ नम्बर प्रदेशमा यसकारण बामगठबन्धन कमजोर



काठमाडौं । देशव्यापी रुपमा वाम गठबन्धनको लहर आएपनि तराई मधेसको मुख्य क्षेत्रको रुपमा चिनिएको प्रदेश नं २ मा पछि परेपछि त्यसको कारणको बारेमा खोजी नीति सुरु भएको छ ।

तराई मधेशमा सोचेजति परिणाम नआएपछि वामगठन्धनले खोजी नीति सुरु भएको हो ।

त्यसो त निर्वाचन प्रचार प्रसारको समयमा शीर्ष नेताले ध्यान नदिएको भन्दै गुनासो पनि उत्तिकै बढेको छ । माओवादी केन्द्रका नेता मातृका यादवले शीर्ष नेताले प्रदेश नं २ लाई ध्यान नदिएका कारण परिणाम सुखद नभएको बताउने गरेका छन् ।

तराई मधेशमा प्रमुख राजनीतिक दलले नै निर्वाचन जित्नु आवश्यक थियो भन्दै सैद्धान्तिक रुपमा बताइएपनि परिणाम भने त्यसो हुन सकेन । वामगठबन्धनले देशव्यापी रुपमा लहर ल्याउँदा समेत पछाडि परेपछि मातृका यादवले मात्रै होइन, एमालेका नेताहरुले समेत आपत्ति जनाएका छन् ।

निर्वाचनको समयमा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड समेत एक दिन पनि प्रदेश नं २ मा एक दिन पनि प्रचारका लागि गएनन् । एमाले अध्यक्ष ओलीलाई असहज भएपनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रदेश नं २ को प्रचारमा जान कुनै समस्या थिएन ।

मातृका यादवले नेतृत्वले प्रदेश नं २ को विशिष्ठतालाई ख्याल नगर्दा परिणाम राम्रो नआएको बताउँदै आएका छन् ।

दुई नम्बर प्रदेशमा रहेको ३२ वटा प्रतिनिधिसभा मध्ये ७ वटा सीट मात्र वामगठबन्धनले जितेको छ । त्यसमा माओवादीले पाँच सीट जितेको छ भने एमालेले दुईटा सीटमा चित्त बुझाउन बाध्य भएको छ ।

सप्तरी, बारा र पर्सामा वामगठबन्धन क्लिन स्वीप भएको छ । सिरहामा चारमध्ये एउटा एमाले र अर्को माओवादी गरि दुईटा सीट जितेको छ भने धनुषामा पनि एउटा माओवादी र अर्को एमालेले जितेको छ ।

महोत्तरीमा चारसीट मध्ये माओवादीले एउटा सीट मात्र हात परेको छ । सर्लाही र रौतहटमा पनि एउटा–एउटामा मात्र चित्त बुझाउनु परेको छ । बरु काँग्रेस एक्लैले पनि छवटा सीट जितेको छ । काँग्रेसले सप्तरी, सिरहा, सर्लाही र बारामा एउटा–एउटा सिट जितेको छ भने रौतहटमा दुईटा सीट जितेको छ ।

दुई नम्बर प्रदेशमा वामगठबन्धनले कम्तीमा १५ देखि १७ सीट जित्ने आँकलन गरेको थियो भने काँग्रेसले ७–१० र मधेशवादी दलले ८–११ वटा सीट जित्ने आँकलन गरिएको थियो । तर, परिणाम आउँदा त्यसको ठिक उल्टो भयो । बरु काँग्रेसका लागि गरिएको आँकलन ठिक भयो तर वामगठबन्धन आधामा गएर झरेको छ ।

अपेक्षित परिणाम नआएपछि वामगठबन्धनले आन्तरिक समिक्षा गरिरहेका छन् ।माओवादी नेताहरु मातृका यादव, विश्वनाथ शाह, रामकुमार शर्मा र एमाले नेताहरु रघुविर महासेठ, सत्यनारायउण मण्डल, वंशीधर मिश्रलगायतले आन्तरिक समिक्षा सुर गरेको बताएका छन् ।


क्लिकमान्डु