प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले विहिवारदेखि औपचारिक कारोबार थाल्यो



काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले विहिवारदेखि कारोबार सुरु गरेको छ ।

बीमा समितिका अध्यक्ष चिरञ्जिबी चापागाईँले विहिवार एक कार्यक्रमकाबीच सेवा शुभारम्भ गरे ।

नेपालको इमर्जिङ समूह प्रभु समूह, प्रभु बैंक,सांग्रिला विकास बैंक र मुलुकका अन्य प्रतिष्ठित व्यवसायिक समूहको लगानी रहेको प्रभु लाइफले बीमा बजारलाई ग्रामिण तहसम्म पुर्याउने लक्ष्य लिएको छ।

कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईँले दश वर्षको अवधिमा अर्थतन्त्रमा धेरै परिवर्तन आएको बताउँदै सम्भाब्य बजार धेरै भएकाले थप नयाँ बीमा कम्पनीलाई अनुमति दिएको बताए ।

उनले नयाँ बीमा कम्पनी संचालनमा आउँदा थप रोजगारी पाउने र बीमा बजारलाई पनि विस्तार गर्न सघाउ पुर्याउने दाबी गरे ।

प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनले निर्वाचनपछि राजनीतिक संक्रमण सकिएको बताउँदै अर्थतन्त्रले समेत नयाँ उचाई लिने र बीमा बजार पनि गतिशील हुने बताउनुभयो।

भट्टचनले प्रभु जीवन बीमा कम्पनीले जीवन बीमा बजारमा महत्वपूर्ण स्थान बनाउने दाबी गरे ।

कम्पनीका अध्यक्ष रामबहादुर पाण्डेले जीवन बीमालाई गाउँसम्म पुर्याउने उदेश्यसहित कम्पनी स्थापना भएको बताउँदै बीमा बजारमा नयाँ आयाम थप्ने दाबी गरे ।

दुई अर्ब चुक्ता पूँजी रहेको प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा संस्थापक शेयरधनीले १ अर्ब ४० करोड लगानी गरेका छन्। कम्पनीले केही समयभित्रै ४० करोडको साधारणस सेयर जारी गर्ने जनाएको छ ।


क्लिकमान्डु