किन कमजोर भए प्रदेश नं २ मा ठूला दल



काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा वाम गठबन्धनले देशव्यापीरुपमा दुई तिहाइ स्थानमा विजयी हासिल गरे पनि प्रदेश नं २ मा भने सोचेजस्तो नजिता निकाल्न सकेन ।

वाम गठबन्धन जस्तै नेपाली काँग्रेसको अवस्था पनि उक्त प्रदेशमा राम्रो रहेन । तर मधेश केन्द्रित दलले गतिलै पुनरागमन गरे ।

कूल ३२ प्रतिनिधिसभा र ६४ प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनमा उक्त प्रदेशमा प्र्रतिनिधिसभा सदस्यमा संघीय समाजवादी फोरमले नौ र राष्ट्रिय जनता पार्टीले १० स्थानमा विजयी भए । वाम गठबन्धनमा आबद्ध नेकपा (एमाले) दुई र नेकपा (माओवादी केन्द्र) पाँच तथा काँग्रेसलाई छ स्थानमा मात्रै चित्त बुझाउनुप¥यो ।

समग्र मुलुकको मत परिणामलाई हेर्दा प्रदेश नं २ मा मधेश केन्द्रित दलले प्राप्त गरेको नजिता र काँग्रेसले देशभर नै प्राप्त गरेको सिट करिब करिब समान हैसियतमा देखिएको छ । काँग्रेसले देशव्यापीरुपमा २३ स्थानमा चित्त बुझाउँदा मधेश केन्द्रित दुई दलले यो प्रदेशमा मात्र १९ स्थानमा जित निकाले । देशव्यापीरुपमा यी दुई दलले २१ स्थानमा विजयी हासिल गरेको छ ।

यसैगरी कूल ६४ प्रदेशसभा सदस्यमध्ये वाम गठबन्धनले २० स्थानमा जित हासिल गरेको छ । एमालेले १४ र माओवादी केन्द्रले छ स्थानमा मात्रै विजयी हुन सक्यो ।

त्यस्तै काँग्रेस आठ, संघीय समाजवादी फोरम नेपाल २०, राजपा नेपाल १५ र स्वतन्त्र उम्मेदवार एक स्थानमा विजयी भएका छन् । समानुपातिकको मत परिणाम आउन बाँकी नै छ ।

संघीय फोरम र राजपाले पाएको मतअनुसार कम्तीमा १०÷१० वटा सिट समानुपातिकमा पनि पाउने सम्भावना छ । त्यसलाई जोड्दा फोरम नेपालले ३० सिट र राजपा नेपालको २५ सिट हुनेछ । वाम गठबन्धनका दुईवटै दलको जोडेर पनि फोरम नेपाल जतिको हुँदैन । वाम गठबन्धन र काँग्रेस मिले पनि दुई नं प्रदेशमा सरकार बन्ने सम्भावना रहेको छैन ।

प्रदेश नं २ मा मधेश केन्द्रित दलले प्राप्त गरेको मत परिणामलाई लिएर राजनीतिकरुपमा विभिन्न खालका टीकाटिप्पणी भइरहेको छ । राजनीतिक विश्लेषक तुलानारायण साह अहिले मुलुकभर आएको मत परिणाम संविधान संशोधन र अनुमोदन गर्नेबीचको स्वभाविक परिणाम भएको बताए ।

‘संविधान संशोधन गर्नुपर्छ भन्ने पक्षमा मधेशी एक मत भएकै कारण पूर्व–पश्चिम, काठमाडौँ पनि मधेशीलाई मत प्राप्त भएको हो’– उनले भने ‘प्रदेश नं २ मा विशेषगरी एमालेले लिएको चर्को अडानले कम मत पाएको देखिन्छ ।’

तुलनात्मकरुपमा माओवादी केन्द्रलाई केही विश्वास गरेको उल्लेख गर्दै विश्लेषक साहले काँग्रेस यता न उता भएकाले हालको परिणाम व्यहोरेको टिप्पणी गरे ।

काँग्रेस नेतृत्वको सरकारले संविधान संशोधनको प्रक्रिया अगाडि बढाए पनि मधेशीले नपत्याएको अर्थमा परिणाम देखिएको छ । काँग्रेस सांगठनिकरुपमा कमजोर, मधेशी र वामपन्थी गठबन्धनको मारमा परेकाले मधेशमा ऊ कमजोर देखिएको उनको भनाइ छ ।

प्रदेश नं २ मा मधेश केन्द्रित दलले पाएको मत केन्द्रीय सरकारसँग सहकार्य गरेर अघि बढ, संविधान संशोधनका लागि वाम गठबन्धनसँग लचिलो भएर प्रस्तुत हुनुपर्छ भन्ने सन्देश परिणामले दिएको टिप्पणी गर्नेहरु पनि छन् ।

पूर्वसांसद तथा प्राध्यापक लालबाबु यादवका अनुसार राष्ट्रिय पार्टी मधेशी विरोधी छन् भन्ने भ्रमलाई ठूला दल काँग्रेस र एमालेले स्पष्टसँग राख्न नसक्दा कमजोर भएको बताए ।

खासगरी एमाले र माओवादी केन्द्रले प्रदेश नं २ का जनतासँग आफ्ना कुरा प्रष्टसँग राख्न नसक्दा पनि मत परिणाम अपेक्षित नआएको उनको भनाइ छ ।

उनले भने ‘प्रदेश नं २ का जनतामा भावनात्मकरुपमा आफूहरुलाई राज्य र ठूला दलले पेल्यो भन्योे अनुभूति भयो, यो भावनाले ठूलो काम गरेको छ, ठूला दललाई कमजोर बनाउनमा ।’ तर उनले राष्ट्रिय पार्टीलाई मधेशीले दिएको मत सन्तोषजनक नै रहेको बताए ।

संघीय फोरमका अध्यक्ष उपेन्द्र यादव र राजपाका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको परिणामपछि वाम गठबन्धनसँग सहकार्य गर्ने भन्ने चर्चा सकारात्मक भएको उल्लेख गरे । एमाले मधेश विरोधी हैन र छैन मधेशमा राष्ट्रिय पार्टीसँग मिलेर जानुपर्छ भन्ने नतिजाले देखाएको प्राध्यापक यादवले बताए ।

विश्लेषक एवं पत्रकार डा राजेश अहिराजले राजनीतिक स्थायित्व र विकासका लागि जनताले आफ्नो मत दिएको टिप्पणी गरे । उनले भने , ‘मेलमिलाप र एकताको सन्देश प्राप्त भएको छ, यो गरिमालाई सबै दल मिलेर कायम राख्न सक्नुपर्छ ।’

उनले आगामी राजनीतिक नेतृत्वले आर्थिक समृद्धिलाई ध्यान दिनुपर्ने र मधेशको समृद्धि पनि त्यसैमा पर्ने उल्लेख गर्नुभयो । सबै दललाई भेदभाव नगरी जनताले मत दिएकाले त्यसको कदर गर्नुपर्ने उनको जोड छ । मधेश केन्द्रित दलले देशलाई केन्द्रमा राखेर मधेशका विषय उठाउनुपर्ने धेरैको विश्लेषण छ ।

माओवादी केन्द्रका नेता मातृका यादव प्रदेश नं २ मा वाम गठबन्धन कमजोर हुनुका कारणबारे खोजी गरिने बताउछन् । उनले त्यसका लागि माओवादी केन्द्रले आन्तरिक छलफल गरिरहेको र संयुक्तरुपमा पनि गठबन्धनमा छलफल हुने बताए ।

प्रदेश नं २ मा माओवादी केन्द्रका रामचन्द्र झा, उमेश यादव र अजयशंकर नायकजस्ता स्थापित हस्तीसमेत पराजित हुनुपरेको छ । एमालेका डा वंशीधर मिश्र, काँग्रेस नेता रामकृष्ण यादव, नेत्री किरण यादवसमेत पराजित हुनुप¥यो । सबै तथ्यका आधारमा विश्लेषण गरेर कमजोरी सच्याउनुपर्ने वाम गठबन्धनको भनाइ छ । रासस


क्लिकमान्डु