असार मसान्तभित्र इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने



काठमाडौँ । सरकारले वाग्मती अञ्चलमा दर्ता भएका चारपाङ्ग्रे सवारी साधनमा आगामी असार मसान्तभित्र अनिवार्यरुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने व्यवस्था गरेको छ ।

यातायात व्यवस्था विभागले वाग्मती अञ्चलमा दर्ता भएका सरकारी र  संस्थानका सवारीका लागि आगामी चैत मसान्तभित्र र अरु सवारी साधनलाई २०७५ असार मसान्तसम्म अनिवार्यरुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने व्यवस्था गरेको हो ।

विभागका प्रवक्ता डा टोकराज पाण्डेले विभागले गरेको निर्णयअनुसार चैत मसान्त र असार मसान्त गरी दुई भागमा विभाजन गरेर इम्बोस्ड नम्बर जडान गर्ने व्यवस्था मिलाएको बताउँछन् ।

‘विभागले तोकेको समयसीमा भित्रै इम्बोस्ड नम्बर जडान गर्नुपर्छ,’ उनले भने ।

विभागले आवेदन दिनुअघि सवारीका बाँकी कर सबै तिरेर तोकिएको शुल्क बुझाएर रसिद लिनुपर्ने व्यवस्था गरेको छ ।

‘पहिलो चरणमा चारपाङ्ग्रे साना तथा ठूला सवारी धनीले मात्रै इम्बोस्ड प्लेटका लागि आवेदन दिन सक्नेछन्,’ प्रवक्ता डा पाण्डेले भने ।

मन्त्रिपरिषद्ले यसअघिको अञ्चलका आधारमा नम्बर प्लेट वितरण गर्ने व्यवस्थामा संशोधन गर्दै प्रदेशका आधारमा इम्बोस्ड प्लेटको वितरण गर्ने निर्णय गरेको थियो ।


क्लिकमान्डु