दुई कम्पनीले मात्रै तिर्छन् दूरसंचार रोयल्टी, यी हुन् रोयल्टी नतिर्ने कम्पनीहरु




काठमाडौं । विभिन्न दूरसंचार कम्पनीहरुले सरकारलाई तिनुपर्ने रोयल्टी बापतको रकम अझैसम्म बुझाएका छैनन् । नेपाल दूरसंचार प्राधिकरणकाअनुसार प्रमुख दुई दूरसंचार कम्पनीहरु बाहेक अन्य दूरसंचार कम्पनीहरुले रोयल्टी बुझाएका छैनन् ।

प्राधिकरणकाअनुसार यूनाइटेड टेलिकम (यूटीएसल) ले असार मसान्तमा नै बुझाउनुपर्ने २० करोड ४१ लाख रुपैयाँ हालसम्म बुझाएको छैन् । यो यूटीएलले सरकारलाई किस्ताबापत बुझाउनुपर्ने रकम हो । त्यसैगरि कम्पनीले ग्रामीण दूरसंचार कोष र रोयल्टीको रकम पनि बुझाएको छैन ।

रोयल्टी नबुझाउने कम्पनीको सूचीमा सिजी टेलिकम पनि रहेको छ । गत असारमा मन्त्रिपरिषदबाट सिधै टेलिकम सेवा संचालनको अनुमति पाएको सिजीले आर्थिक वर्ष २०७०÷७१ देखि नै रोयल्टी बुझाएको छैन । कम्पनीले हालसम्म २ करोड रुपैयाँ भन्दा बढि रकम रोयल्टी बापत बुझाउनुपर्ने प्राधिकरणको भनाई छ ।

त्यसैगरि नेपाल स्याटेलाइटले पनि रोयल्टी बापतको रकम बुझाएको छैन । यसका साथै कम्पनीले आव २०७३÷७४ को ग्रामिण दूरसंचार कोषमा दाखिला गर्नुपर्ने रकम पनि बुझाएको छैन । कम्पनीले सो आवको रोयल्टी समेत बुझाएको छैन ।

उता भर्खरै मात्र फोरजी मोबाइल सेवा संचालन गरेको स्मार्ट टेलिकम पनि रोयल्टी नबुझाउने दूरसंचार कम्पनीको सूचीमा रहेको छ । कम्पनीले पनि आर्थिक वर्ष २०७३÷७४ को रोयल्टी र ग्रामिण दूरसंचार कोषमा जम्मा गर्नुपर्ने रकम बुझाएको छैन । कम्पनीले कोषमा २ करोड रुपैयाँ भन्दा बढि र रोयल्टी बापतको ४ करोड १० लाख रुपैयाँ बराबर प्राधिकरणमार्फत राजस्व दाखिला गर्नुपर्ने हुन्छ ।

प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले रोयल्टी नबुझाएका कम्पनीहरुलाई रोयल्टी तिर्नको लागि जानकारी गराईएको बताए ।

‘हामीले बेला बेलामा उहाँहरुको बाँकी बक्यौताको बारेमा जानकारी दिँदै राजस्व तिर्न भन्दै आएका छौं,’ प्रवक्ता अर्यालले भने ।

प्राधिकरणकाअनुसार दुई ठूला टेलिकम कम्पनीहरु नेपाल टेलिकम र एनसेलले भने नियमितरुपमा नै रोयल्टी तिर्ने गरेका छन् ।

सरकारलाई तिनुपर्ने रोयल्टी बापतको रकम प्राधिकरणमार्फत असोज मसान्तभित्र दाखिला गर्नुपर्ने हुन्छ ।


क्लिकमान्डु