नेपाली कमोडिटी एक्सचेन्जमा हुन्छ अब तोरीदेखि फापरसम्मको कागजी किनबेच




काठमाडौं । धितोपत्र बोर्डले मंसिर ११ गतेदेखि बस्तु बिनिमय बजार नियमावली लागू गरेको छ । बस्तु बिनिमय बजार सम्बन्धी ऐन आइसकेपछि सरकारको स्वीकृतिमा बोर्डले कार्यान्वयनमा ल्याएको नियमावलीले कुन कुन प्रकारका र के कस्ता बस्तुहरुको कागजी किनबेच हुन्छ भन्ने प्रष्ट भएको छ ।

बिनियमावलीमा ६ प्रकारका बस्तुहरुको बस्तु बिनियम बजार (कमोडिटी एक्सचेन्ज) मा कारोबार हुन सक्ने भएको छ । यस्तो सुचीमा रहेका बस्तुहरु बोर्डले आवश्यकता अनुसार थप गर्न सक्ने भएपनि अहिलेलाई बहुमूल्य धातुदेखि नेपाली कृषि उत्पादन फापर र अन्डासम्मको कारोबार गर्न बाटो खुल्ला गरिएको छ ।

बोर्डले कृषिजन्य उत्पादनको कमोडिटी बजारमा कारोबार गर्न सकिने बाटो विनियिमावली मार्फत खुल्ला गरिएको छ । जसअनुसार कपास, अलैची, जिरा, खुर्सानी, मरीच, काजु, सुपारी, दलहन, मकै, गहूँ, धान, आलु, मेथी, तोरी, भटमास, आलस, फापर, उखु, सूर्ति, जूट, अदुवा, बेसार, फलफूल तथा सोबाट निर्मित जुसको कारोबार हुन सक्ने भएको छ ।

यस्तै धातुजन्य वस्तुको सुचीमा आल्मुनियम, तामा, शिशा, निकल, टिन, पित्तल, फलाम, स्टिल र जिंकको कारोबार हुने भएको छ ।

बहुमूल्य धातुहरुमा सुन, चाँदी र प्लाटिनमको कारोबार हुने भएको छ । यस्तै खनिज तैलजन्य बस्तुहरुमा कच्चा तेल, पेट्रोलियम पदार्थ, प्राकृतिक ग्यास र हिटिङ आयालको कारोबारको बाटो खुल्ला गरिएको छ ।

बोर्डले तेलजन्य बस्तुहरुमा नरिवलको तेल, पाम तेल, तोरीको तेल, भटमासको तेल, सूर्यमुखी तेल र आलसको तेलको कारोबार गर्न सकिने ब्यवस्था गरेको छ भने अन्य बस्तुहरुमा चिनी, सख्खर, चिया, कफी, अण्डा र जडिबुटी पनि कारोबार हुन सक्ने बस्तुमा राखिएको छ ।

यसरी कमोडिटी मार्केटमा कारोबार हुने बस्तुहरुको भौतिक रुपमा नै खरिदकर्ताले पाउनु पर्छ भन्ने हुदैन । यस्तो बस्तु खरिदकर्ताले राष्ट्रिय तथा अन्तराष्ट्रिय बजार मूल्य अनुसार यस्ता बस्तुको मूल्य बढ्छ कि घट्छ भन्ने आधारमा कागजी लगानी गर्न पनि सक्नेछन् ।


क्लिकमान्डु