अदुवा बिक्री नहुँदा किसान मारमा



पाल्पा । अदुवाले बजार नपाएपछि पाल्पाका कृषक चिन्तामा परेका छन् ।

गाउँका कृषकको आयआर्जनको मुख्य स्रोतको रुपमा रहेको अदुवा यसवर्ष बजारमा बिक्री नहुँदा साँझबिहानको गुजार चलाउन समस्या भएको छ ।

गल्धाका अगुवा कृषक तेजन सुनारी वर्षेनी चार सय धार्नीसम्म अदुवा उत्पादन गर्छन् । अदुवाबाट उनको घरखर्च राम्रोसँग चलेको थियो । तर दुई वर्षयता अदुवा बिक्री नहुँदा उनि निकै समस्यामा परेका छन् ।

‘गतवर्ष पनि अदुवा बिक्री भएन सुठो बनाएर राखे, त्यो पनि बिक्री भएन, अहिलेसम्म त्यत्तिकै छ,’ उनले भने ।

उनले तीन सय धार्नीभन्दा बढी अदुवा उत्पादन गरेका छन्। तर अहिलेसम्म बिक्री भएको छैन । व्यापारिले २० रुपैयाँ धार्नीमा दिँदा पनि लिन नमानेपछि उत्पादन भएको अदुवा कुहेर जाने चिन्ता बढेको सुनारी बताउँछन् ।

त्यस्तै अर्का कृषक दिलबहादुर रानाले अहिले तीन सय धार्नी अदुवा उत्पादन गरेका छन् । तर बजारमा बिक्री गर्न नपाउँदा उनको मेहनत र लगानी खेर जाने भएको छ । रानाले गतवर्ष अदुवा बिक्री नभएपछि दुई सय धार्नी अदुवा सुठो बनाएर राखे । तर त्यो सुठो बनाइएको अदुवा एक धार्नी पनि बिक्री नहुँदा उनि चिन्तित बनेका छन् ।

‘गतवर्षको सुठो बनाएको त्यत्तिकै छ, अहिले पनि उत्पादन भइसक्यो, एक धार्नी बेच्न पाइएको छैन,’ रानाले भने ।

सुठो बनाउँदा समयको खर्च र बनाउन निकै झण्झट हुन्छ । तर त्यही सुठो पनि नबिक्दा ठूलो घाटा बेहोर्नु परेको छ ।

अदुवा बिक्री नहुँदा साँझ बिहानको गुजारा चलाउन निकै धौधौ परेको अर्का कृषक टोपबहादुर राना बताउँछन् । अदुवा बिक्री गरेर साँझ बिहान खाद्यान्नको जोहो गर्दै आएका यहाँका कृषक दुई वर्षयता बजारमा बिक्री नहुँदा मारमा परेका छन् ।

व्यापारिले पनि कृषकबाट निकै सस्तो मूल्यमा खरिद गर्न खोज्ने र उपभोक्तालाई चर्को मूल्यमा बिक्री गर्ने प्रवृत्तिले अदुवाको लगानी र मेहनत अनुसारको भाउ कृषकले नपाएका हुन् ।

जिल्लाको मुख्य नगदेबालीका रुपमा स्थापित अदुवाखेतीलाई विस्तारका क्रममा सरकारले ‘एक गाउँ एक उत्पादन’ कार्यक्रमअन्तर्गत उद्योग वाणिज्य संघमार्फत अदुवाखेतीका लागि प्रवद्र्धन गरिएको छ । गल्धा, सहलकोट, बाकामलाङ, भैरवस्थान, पालुङमैनादी, फेक, ठिमुरे, खानीगाउँ, बराङदी क्षेत्रलाई पकेट क्षेत्रको रुपमा विकास गरिएको छ ।

जिल्लामा एक हजार २६० हेक्टर क्षेत्रफलमा व्यावसायिक रुपमा अदुवाखेती गरिँदै आएको छ ।


क्लिकमान्डु