दुग्ध विकास संस्थानद्धारा पाँच करोड रुपैयाँ बराबरको चिज उत्पादन



रसुवा । गोसाइँकुण्ड धार्मिकमार्गको चन्दनबारीलगायत हिमाली भेगका चार स्थानमा पाँच करोड रुपैयाँ भन्दा बढीको चिज (याक)उत्पादन भएको छ ।

दुग्ध विकास संस्थानका अभिलेख सहायक शिव दाहालका अनुसार जिल्लाको चन्दनबारी, गत्लाङ, लाङटाङ र धुन्चे केन्द्रबाट यस आर्थिक वर्षको गत याममा ३३ हजार ८८२ किलो चिज र ११ हजार ४१४ किलो मखन उत्पादन भएको छ । विगत वर्षको तुलनामा उत्पादनमा वृद्धि हुँदै गएको छ ।

गत वैशाखदेखि कात्तिक १५ गतेसम्ममा पाँच करोड ९० लाख ४७ हजार रुपैयाँ बराबरको चिज उत्पादन भएको छ । उपभोक्ताको माग बढ्दै गएको छ । लाङटाङमा उत्पादित चिज स्थानीयस्तरमै खपत हुन्छ ।

अन्य क्षेत्रको चिज काठमाडौँस्थित दुग्ध विकास संस्थानको केन्द्रीय भण्डारण लैनचौरमार्फत बिक्री–वितरण हुने गरेको चन्दनबारी केन्द्रका प्रमुख क्षेत्रबहादुर तामाङले जानकारी दिए।


क्लिकमान्डु