वैदेशिक रोजगारीबाट फर्किएका युवाले गाईपालनबाटै कमाए वार्षिक लाखौं रुपैयाँ



तेह्रथुम । छथर गाउँपालिका–१, आङदिमका ज्ञानेन्द्र कार्की सात वर्ष विदेशमा बसेर आएपछि फेरि पनि विदेशिने सोचमा थिए । स्वदेशमा रोजगारी नपाउँदा निराश बनेका युवा दुई/चार पैसा कमाउन भन्दै विदेसिने क्रम बढ्दो छ । तर उनीहरुमध्ये कमैले मात्र सोचेका हुन्छन् कि मेहिनेत गर्दा स्वदेशमा आफैँ पनि रोजगार बन्न सकिन्छ भनेर ।

एक पटक मलेसिया पुगेर त्यहाँको दुःख झेलिसकेका कार्कीले त्यहाँ रहँदाको दुःख, पीडा र त्यहाँ कमाएको थोरै रकम पनि बचत गर्न नसकेको सम्झिए । एक पटक घरै बसेर रोजगार बन्न प्रयास गर्ने निधो गरे। अन्ततः दरिलो जोश, जाँगर र थोरै भए पनि लगानी गर्ने हो भने स्वदेशमा नै प्रशस्त धनआर्जन गर्न सकिन्छ भन्ने प्रमाणित गरेका छन् कार्कीले ।

त्यतिवेला तीनवटा उन्नत जातका गाई इलामबाट ल्याएर थालेको व्यावसायिक गाईपालनबाट उहाँले अहिले घरैमा बसेर वार्षिक १२ लाख रुपैयाँभन्दा बढी कमाउँछन् । उनको फार्ममा अहिले १२ वटा उन्नत जातका गाई छन् । अहिलेसम्म कार्कीको गाई फार्ममा झण्डै २० लाख रुपैयाँ लगानी भइसकेको छ । शुरुमा आफैँले ऋण काढेर तीन लाख रुपैयाँ लगानीले थालेको व्यवसायमा अहिले दुई लाख रुपैयाँ थपेका छन् । प्राइम बैंक र कृषि विकास बैंकबाट पाँच/पाँच लाख रुपैयाँ कर्जा लिएका छन् ।

फार्म सञ्चालनका लागि स्थानीय वित्तीय संस्थाले समेत सहयोग गर्दै आएको कार्कीले बताए । दुई वर्षमा उहाँले फार्मको खर्च कटाएर १० लाख रुपैयाँ ऋण चुक्ता गरेका छन् । फार्ममा रहेका १० वटा गाईले दैनिक ७० लिटर दूध दिने गरेका छन् । गाउँमा डेरीले प्रतिलिटर ४५ रुपैयाँदेखि ५५ रुपैयाँसम्ममा दूध खरिद गरिरहेका छन् । अहिले दूधबाट मात्रै कार्कीले मासिक एक लाख २० हजार रुपैयाँ आम्दानी गर्छन् ।

“रु ६० हजारसम्म बचत हुन्छ,” उनले भने। विदेशबाट फर्किएपछि गाउँमा गाईपालन व्यवसायको थालनी हुँदै गर्दा आफू व्यावसायिक गाईपालनबारे जानकारी लिन गोरखासम्म पुगेको कार्कीले सुनाए । गाईपालनबाट मनग्य आम्दानी लिन सकिने थाहा पाएपछि कार्की त्यसतर्फ लागेका हुन्।

‘विदेशमा धेरै मिहेनत गर्नुपर्छ,घरपरिवारबाट अलग्गिएर चर्को घाममा ज्यानको माया मारी काम गर्नुपर्छ,’ कार्कीले भने।

उनी स्वदेशमै गरेको कमाइबाट सन्तुष्ट छन् ।

‘यहाँ कमाइ पनि छ, जोखिम पनि छैन, सुखदुःख साँट्ने परिवार पनि साथै छ,’ उनले भने ।

रोजगारी नपाएर विदेशिनुभएका कार्कीले अहिले आफ्नो गाई फार्ममा तीन जनालाई रोजगारी समेत दिएका छन् । गाईको रेखदेख, घाँस काट्ने, खोले र दाना पानी खुवाउने, दुहुनेलगायत काम उनिहरुले गर्छन् । गाईको संख्या बढाएर १५ वटा पु¥याउने उनको लक्ष्य छ ।

कार्कीले गाईपालनका लागि ५० किलो घाँसको बीउ ल्याएर खेती गरेका थिए । सरकारी अनुदानबापत अहिलेसम्म घाँसको बीउ मात्र पाएको उनको भनाइ छ । युवालाई कृषि पेशामा प्रोत्साहन गर्न सरकारले कुनै कार्यक्रम नल्याएको कार्कीको गुनासो छ ।


क्लिकमान्डु