आफ्नो सवारी सधान चिसोमा बाहिर छोड्ने गर्नु भएको छ ? यस कारण जोगाउनुस् चिसोबाट



काठमाडौं । जसरी मानिसको स्वस्थ्यलाई मौसमअनुसार स्याहारको आवश्यकता पर्छ, त्यसैगरी सवारीको स्वास्थ्यमा पनि समयअनुसारको हेरचाह जरुरी पर्छ ।

मौसमअनुसारको ‘केयर’ गरिएन भने सवारीले आवश्यकता अनुसार ‘पर्फर्मेन्स’ नदिने तथा खराबी आउने सम्भावना बढी हुन्छ ।

नेपालमा सवारी प्रयोगकर्ताहरूमा जाडो मौसममा गाडीको हेरचाह गर्नुपर्छ भन्ने उचित जानकारी नै नभएको पाइन्छ । जसरी मानिसको शरीरमा जाडो र गर्मीमा बेग्लाबेग्लै पहिरन र सुरक्षा चाहिन्छ, सवारीलाई पनि त्यस्तै सुरक्षा र हेरचाह चाहिने हुन्छ ।

जाडो बाहेकका अन्य मौसममा सवारीको सुरक्षा तथा हेरचाह नचाहिने भन्ने होइन । सामान्य समयमा पनि सवारीको हेरचाह उत्ति नै महत्वपूर्ण हुन्छ । तर फरक यत्ति हो की जाडोमा सवारीको हेरचाहमा भने अलि बढी संवेदनशिल हुनु आवश्यक हुन्छ ।

सवारीको हेरचाह इन्टरनल र एक्स्टरनल गरी वर्गीकरण गरी गर्दा सजिलो र उपयोगी मानिन्छ । त्यसमा पनि कारको हेरचाह झनै महत्वपूर्ण हुन्छ । चिसो मौसममा कारको हेरचाह बाहिरी र भित्री आवरणलाई छुट्याएर गर्दा उपयोगी हुन्छ ।

बाहिरी हेरचाह
अन्य मौसमको तुलनामा जाडो याममा धेरै धुलो उड्ने गर्छ । नेपालजस्तो विकासका काम अघि बढिरहेको मुलुकमा त्यो सम्भावना झनै धेरै हुन्छ । काठमाडौंमात्र होइन, अन्य सहरहरूमा पनि विकास निर्माणका काम तिव्र भइरहेकाले धुलो उड्नु स्वभाविक हो ।

यस्तो अवस्थामा सवारीको सिसा तथा सम्पूर्ण बडीमा अत्यधिक धुलो टाँसिने हुन्छ । अत्यधिक धुलोका कारण सवारीको बाहिरी आवरणमा खराबी आउन सक्छ । नेपालमा हुने सवारी बिक्रीको कुल हिस्सामध्ये करिब ७० प्रतिशत काठमाडौंमै हुने गरेको छ ।

यस्तो अवस्था रहे पनि यहाँ पर्याप्त सवारी पार्किङ नहुँदा सवारीमा क्षति पुग्ने सम्भावना धेरै हुन्छ । आवश्यक पार्किङ नहुँदा सवारी बाहिरै खुल्ला आकाशमा राख्नुपर्ने अवस्था छ । यसरी पार्किङ गर्दा सवारीमा शीत पर्छ र त्यहाँ अक्सिडेसन उत्पन्न हुन्छ । सवारीमा मेटालिक तथा ननमेटालिक रंग गरिएको हुन्छ, शीत परेपछि उत्पन्न हुने अक्सिडेसनले उक्त रंग बिगारी डिसकलर हुने सम्भावना अत्यधिक हुन्छ ।

सवारीमा गरिएको कलरले जुन साइनिङ दिन्छ, शीतमा राख्दा हुने खराबीले त्यो साइनिङ घटाउँछ । अन्य देशको तुलनामा नेपालमा बिक्री भएका सवारीमा साइनिङ कम हुने गरेको बताइन्छ । यस्तो अवस्थाबाट आफ्नो सवारीलाई बडी कभरले ढाक्नु उत्तम हुन्छ । सवारीलाई बडी कभरले ढाक्दा माथिका समस्याबाट बच्न सकिन्छ ।

सवारीको अगाडीको सिसा संवेदनशिल भाग हो । जाडोमा भिजिबिलिटी कम हुने भएकाले सवारीको सिसा तथा हेडलाइटलाई सफा राख्नुपर्छ । विन्ड सिल्ड (अगाडिको सिसा) धमिलो भयो भने बाटो प्रष्ट नदेखिँदा सवारी दुर्घटना हुने सम्भावना धेरै हुन्छ । त्यसबाट बच्न पनि सवारीको विन्ड सिल्ड सँधै सफा राख्नुपर्छ ।

यसलाई १५ दिन वा १ महिनामा राम्रोसँग सफा गर्दा उपयुक्त हुन्छ । सवारी चलाउनु अघि विन्ड सिल्डलाई मलमल वा टिस्यु पेपरले पुछ्नु राम्रो हुन्छ । सवारीको हेडलाइट पनि नियमित रूपमा सफा गर्ने र त्यसमा प्रयोग भएका बल्बहरू नियमित चेकजाँच गर्ने गर्नुपर्छ ।

त्यस्ता बल्बहरू फ्युजको समस्याले जल्न सक्ने भएकाले आफूसँग १/२ वटा स्पेयर बल्ब स्टकमा राख्ने गर्नुपर्छ । सवारीमा प्रयोग हुने टायर पनि जाडोमा बढी महत्वका साथ हेरचाह गर्नुपर्ने पार्ट हो । टायर रबरबाट बनेको हुनाले चिसोमा खुम्चिएर बसेको हुन्छ । चिसोमा टायर तातेर आफ्नो आकारमा आउन केही समय लाग्छ । यसले जाडोमा टायर धेरै घर्षण हुन्छ । टायरको आयु सरदर ४० देखि ५० हजार किलोमिटर हुने भएकाले जाडो याम सुरु हुन लाग्दा टायरको आयु सकिँदै छ भने फेर्दा उचित हुन्छ ।

भित्रि हेरचाह
जाडो याममा ब्याट्रीको प्रभाव अन्य समयको तुलनामा कमजोर हुन्छ । यस्तो अवस्थामा ब्याट्रीलाई चुस्त राख्नु पर्छ । ब्याट्रीको वाटर लेभल मेन्टेन गरेर नियमित चेकजाँच गराउनुपर्छ । ब्याट्रीलाई फुल चार्ज गराएर राख्ने गर्नुपर्छ । ब्याट्रीबाट कार्बन निस्कन सक्छ, त्यसको नियमित जाँच र सफा गर्नुपर्छ । ब्याट्रीको क्यालिपर राम्रोसँग लक गर्ने गर्नुपर्छ ।

गाडीमा इन्जिनलाई चिस्याउन कुलेन्ट हुन्छ । बाहिरी वातावरणको टेम्प्रेचरले कुलेन्टमा प्रभाव पारेको हुनसक्छ । त्यसैले कुलेन्टको नियमित चेक गर्नुपर्छ ।

ब्रेक प्याड पनि रबरबाट बनेको हुनाले चिसोमा ब्रेक लगाउँदा अनावश्यक घर्षण उत्पन्न भई समस्या आउन सक्ने भएकाले यसको पनि नियमित चेक गर्नुपर्छ । सवारी प्रयोगकर्ताहरुले विन्ड सिल्डमा रहेको वाइपरलाई खासै ध्यान दिएको पाइँदैन ।

चिसोमा विन्ड सिल्डमा वाफका कारण धेरै फोहोर जम्ने सम्भावना हुन्छ । जाडोमा पुरानो भएको वाइपर परिवर्तन गर्ने र त्यस्तो वाइपर गुणस्तरीय मात्र प्रयोग गर्ने गर्नुपर्छ । वाइपरले सिसा सफा राख्नमा धेरै महत्वपूर्ण भूमिका खेल्छ ।

अन्त्यमा जाडोमा सवारीको नियमित परीक्षणका लागि ‘विन्टर सर्भिस’ लाई क्याम्पिङकै रूपमा चलाउन सकिन्छ । जाडो मौसम सुरु हुनुअघि सवारीको सिर्भिसिङ गराउनुपर्छ । अन्य समयमा पनि सवारीको नियमित सर्भिसिङ आवश्यक हुन्छ नै । जाडोमा सवारी प्रयोगकर्ता आफैं यसबारे अलि बढी सचेत हुनु आवश्यक छ ।


क्लिकमान्डु