एक महिनासम्म गल्छी-त्रिशूली सडक दैनिक ८ घण्टा बन्द हुने



त्रिशूली । गल्छी-त्रिशूली–मैलुङ सडक योजनाको कामलाई तीव्रता दिनका लागि आजदेखि गल्छी-त्रिशूली सडकखण्डको गल्छीदेखि पीपलटारसम्मको खण्डमा दैनिक ८ घण्टा सडक बन्द हुने भएको छ ।

गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी सडक योजनाले सडक स्तरोन्नतिको कामलाई तीव्रता दिँदैछ । प्रअिजको अध्यक्षतामा आज बसेको सरोकार भएकाहरुको बैठकले उक्त सडक तीन महिनाका लागि आंशिक बन्द गरी निर्माण अघि बढाउने निर्णय गरेको हो ।

योजनाको निर्माण अपेक्षित रुपमा अघि बढ्न नसकेको र अहिले अप्ठ्यारा भीर काट्ने कामको शुरुआत हुन लागेकाले सडक बन्द गरिएको योजना प्रमुख देवकोटाले बताए ।

धादिङको गल्छीदेखि रसुवाको स्याफ्रुबेँसीसम्म ८२ किमी सडकमध्ये ४६ किमी क्षेत्रमा स्तरोन्नतिको काम भइरहेको छ । ९ अर्ब रुपैयाँ लगानी रहेको योजनाअन्तर्गत सडकको दायाँबायाँ पर्खाल लगाउने र सडक विस्तारको काम भइरहेको छ ।

उत्तर-दक्षिण (चीन र भारत) जोड्ने छोटो नाकाका रुपमा रहेको यो सडक विस्तारलाई अझै प्रभावकारी रुपमा अघि बढाउन पुस १ गतेदेखि फागुन मसान्तसम्म बिहान ६ देखि ९ बजेसम्म र बिहान ११ देखि अपराह्न ४ बजेसम्म पीपलटारदेखि गल्छीसम्म बाटो पूर्णरुपमा बन्द हुने जनाइएको छ ।

यो योजना विसं २०७३ वैशाख २५ मा २७ महिनाभित्र काम सम्पन्न गर्ने गरी काम शुरु भए पनि जग्गा अधिग्रहण, बिजुलीका खम्बा र वन क्षेत्रका कारण निर्माणमा ढिलाइ भइरहेको छ । रासस


क्लिकमान्डु