प्रदेश नम्बर २ः समानुपातिकमा एमाले बन्यो चौथो दल



काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभामा ६ वटा प्रदेशमा सबैभन्दा राम्रो मत प्राप्त गर्दै धेरै सिट जित्न सफल नेकपा एमालेको प्रदेश नम्बर २ को समानुपातिक मत भने निकै कमजोर रहेको छ ।

प्रदेश नम्बर २ मा रहेका ८ जिल्लामध्ये सिरहा जिल्लामा मात्रै एमाले पहिले स्थानमा रहेको छ । उसले सिरहामा नेपाली काँग्रेस भन्दा १७३ मत बढि पाएको निर्वाचन आयोगले जनाएको छ ।

सिरहामा एमालेले ५२ हजार ७१६ मत ल्याउदा काँग्रेसले ५२ हजार ५४३ मत ल्याएको छ । तेस्रो स्थानमा रहेको संघिय समाजवादी फोरमले ४७ हजार ८५७ मत ल्याउदा माओवादी केन्द्रले २७ हजार ६५८ र राजपाले २० हजार २२३ मत पाएको निर्वाचन आयोगले जनाएको छ ।

पर्सा जिल्लामा संघिय समाजवादी फोरम पहिलो बन्दा नेपाली काँग्रेस दोस्रो स्थानमा रहेको छ । एमाले यहाँ तेस्रो स्थानमा रहेको छ । यी तिन दलले यहाँ क्रमश ५३ हजार ३२१, ५०हजार ५९२ र २२ हजार १५६ मत पाएका छन् । यहाँ एमाले दुई दलभन्दा निकै पछाडि रहेको छ ।

बारा जिल्लामा काँग्रेस पहिलो स्थानमा रहदा एमाले दोस्रो स्थानमा रहेको छ । यी दुई दलले पाएको मत भिन्नता ५ हजार भन्दा केही बढि छ । काँग्रेसले ५२ हजार ४४७ मत ल्याउदा एमालेले ४६ हजार ९४३ मत ल्याएको छ ।

रौतहटमा एमाले तेस्रो स्थानमा रहेको छ । यहाँ काँग्रेसले ५५ हजार ५१८ मत ल्याएर पहिलो बन्दा राजपाले ४१ हजार ३ मत ल्याई दोस्रो स्थान पाएको छ । एमालेले यहाँ ३८ हजार ८१८ मत पाएको छ ।

सर्लाही जिल्लामा पहिलो स्थानमा ५७ हजार ६९३ मत सहित पहिलो स्थानमा बनाउदा नेपाली काँग्रेस ४८ हजार ७९१ मत सहित दोस्रो स्थानमा छ । यहाँ पनि एमाले तेस्रो स्थानमा रहेको छ । यहाँ उसले २८ हजार ४ सय १८ मत ल्याएको छ ।

महोत्तरी जिल्लामा एमाले १३ हजार ६९४ मतसहित पाँचौ स्थानमा रहेको छ । यहाँ राजपा ६० हजार २०१ मतसहित पहिलो, काँग्रेस ३४ हजार २० मतसहित दोस्रो, संघिय समाजवादी फोरम २९ हजार ५५१ मतसहित तेस्रो र माओवादी केन्द्र २९ हजार २७३ मतसहित चौथो स्थानमा रहेका छन् ।

धनुषा जिल्लामा नेकपा एमाले चौथो स्थानमा रहेको छ । यहाँ काँग्रेस पहिलो, राजपा दोस्रो, संघिय समाजवादी फोरम तेस्रो र एमाले चौथो भएका हुन् । उनिहरुले यहाँ क्रमश ६२ हजार १९९, ५२ हजार ९, ५१ हजार ११३ र ३८ हजार १५० मत ल्याएका छन् ।

सप्तरी जिल्लामा रापजा पहिलो पार्टी बन्दा दोस्रो स्थानमा नेपाली काँग्रेस रहेको छ । उनिहरुले क्रमश ४७ हजार ५९९ र ४५ हजार ३०१ मत पाएका छन् । त्यस्तै तेस्रो स्थानमा संघिय समाजवादी फोरम रहेको छ । उसले यहाँ ३२ हजार ४९० मत ल्याउदा चौथो स्थानमा रहेको नेकपा एमालेले ३० हजार ५२५ मत ल्याएको छ ।

समग्रमा २ लाख ४७ हजार ३५४ मतसहित नेकपा एमाले तराईका ८ जिल्ला समिलित प्रदेश नम्बर दुईमा चौथो दल बनेको छ ।


क्लिकमान्डु