आठ वर्षसम्म पनि पूरा हुन सकेन लोकमार्गको जाजरकोटखण्ड खोल्ने कार्य



जाजरकोट । मध्यपहाडी लोकमार्गअन्तर्गत जाजरकोटखण्डको निर्माण शुरु भएकोे आठ वर्ष बिते पनि अझैसम्म काम पूरा हुन सकेको छैन  ।

लोकमार्गको जाजरकोटखण्डको ८२ किमीमध्ये पाँच किमी सडक मार्ग खोल्न अझै बाँकी छ । थलहबजारस्थित छेडागार खोलामा पुल निर्माण नहुँदा लोकमार्ग अधुरो बनेको हो ।

रुकुमको चौरजहारी, दैलेखको सुयाँडासम्मको जाजरकोट खण्डमा छेडागारलगायत खोला तथा खोल्सामा पुल निर्माण  नगरिएको  स्थानीयवासीको गुनासो छ  ।

थलबजारमा पुल निर्माण र मन्ताभिर, कालढुंगा, चुवादेउली भिर, भुसखोलालगायतका स्थानमा बाटो खुला नहुँदा सडक निर्माण कार्य अलपत्र परेको छ  ।

त्यस्तै चौरजहारी र कुदुबीचमा पर्ने भेरी पुल र झुप्राखोला पुल निर्माणमा भएको ढिलाइले पनि लोकमार्ग निर्माणलाई थप अधुरो बनाएको हो । मध्यपहाडी लोकमार्ग पश्चिमखण्ड आयोजना दाङ शाखाले भने अधुरो सडकखण्डको मार्ग खोल्ने कार्य पूरा भएको प्रतिवेदन दुई वर्षअघि नै सडक विभागमा बुझाएको थियो ।

जाजरकोटका बासिन्दाले लोकमार्गको यस खण्डको छिटोभन्दा छिटो बाटो निर्माण  गरेर यातायात सञ्चालन गर्न माग गरेका छन् ।

एकैसाथ शुरु भएको लोकमार्गको दैलेख र रुकुमखण्डमा दुई वर्षअघि नै यातायात सञ्चालन भएको दशेराका रामबहादुर थापाले बताए । जाजरकोट खण्ड निर्माणको जिम्मा लिएका कतिपय व्यवसायीले कार्य पूरा नगर्दै भुक्तानी लिँदा सडक निर्माण अलपत्र परेको स्थानीयवासीको गुनासो छ ।

मन्ताभिर खण्डको निर्माण जिम्मा लिएको दिव्यज्योति निर्माण सेवाले कडा चट्टान भन्दै निर्माण पूरा गर्न नसकेको डिभिजन इन्जिनियर शुभराज न्यौपानेले बताए।

त्यस्तै धनञ्जय र सिद्धार्थ जेभीले पनि काँडा झाप्राखण्डको कालढुंगा भिर निर्माण भएको छैन् ।

‘यस मार्गको मन्ताभिर र काँडा झाप्राखण्ड निर्माणको जिम्मा लिएका व्यवसायीले कार्य पूरा नगरेरै भुक्तानी लिएको देखियो, कालढुंगा र मन्ताभिरको ५०० मिटर कडा चट्टान नखोलेरै ठेक्का रकम भुक्तानी भएछ,’ उनले भने ।

पछिल्लो समय मन्ताभिर खोल्न तयार नभएका व्यवसायीले  विगतमा  कामै नगरी ठेक्का होल्ड गरी बसेकाले जाजरकोटखण्ड निर्माणमा ढिलाइ भएको इन्जिनियर न्यौपानेले बताए ।


क्लिकमान्डु