स्मार्ट सिटी कस्तो हुन्छ भन्ने सरकारले नै थाहा पाएन




काठमाडौं । बजेटमा समावेश भएको कार्यक्रम ३ बर्षपछि पनि कार्यान्वयनमा आउन सकेको छैन । सरकारले ३ बर्ष अगाडि नै बजेट मार्फत देशका विभिन्न ३ स्थानमा बनाउने भनेको स्मार्ट सिटी कस्तो हुने भन्ने नै तय भएको छैन ।

सरकारले आर्थिक बर्ष २०७२/७३ को बजेटमा निजगढ, लुम्बिनी र पालुङटारमा स्मार्ट सिटी बनाउने कार्यक्रम घोषणा गरेको थियो । तर, स्मार्ट सिटी कस्तो हुन्छ र के कस्ता पूर्वाधार भएपछि स्मार्ट सिटी भन्न मिल्छ भन्ने नै थाहा नभएका कारण ढिलाइ भएको हो । परामर्शदाताले स्मार्ट सिटीको अबधारणा दिएपछि मात्रै यसको काम अगाडि बढ्छ ।

बजेटमा समावेश भएको ३ बर्षपछि शहरी विकास तथा भवन निर्माण विभागले ३ वटा शहरमध्ये निजगढका लागि परामर्शदाता छनोट गरेको छ । सो शहरका लागि गत मंसिरको अन्तिम साता परामर्शदाता छनोट गरिएको नयाँ शहर आयोजना समन्वय कार्यालयका कायम मुकायम निर्देशक पराग कायस्थले जानकारी दिए ।

‘निजगढमा स्मार्ट सिटी बनाउनका लागि मंसिर २८ गते परामर्शदातासँग सम्झौता भईसकेको छ, पालुङटारको एक–दुई दिनभित्रमा र लुम्बिनीको १५ दिन भित्रमा परामर्शदाता छनोट गरिन्छ,’ कायस्थले क्लिकमाण्डूसँग भने ।

निजगढको स्मार्ट सिटी कस्तो हुन्छ भनेर परामर्श दिने कम्पनीले सो परामर्शवापत सरकारसँग ३ करोड १६ लाख रुपैयाँ लिने सम्झौता भएको छ । परामर्शदाताले ६ महिनाभित्रमा स्मार्ट सिटीको खाँका तयार पारेर विभागलाई दिने कायस्थले जानकारी दिए ।

३ वटा शहरमा स्मार्ट सिटी निर्माणका लागि १४ करोड रुपैयाँ लाग्ने विभागले जनाएको छ । चालु आर्थिक बर्षमा सरकारले स्मार्ट सिटीका लागि ४ करोड रुपैयाँ विनियोजन गरेको छ । सरकारको कार्यक्रम अनुसार यसै बर्षमा काम भए अझै १० करोड रुपैयाँ अपुग हुने विभागको भनाइ छ ।

तर कार्यस्थ भने बजेट अभाबमा काम नरोकिने बताउँछन् । स्मार्ट सिटीको कार्यप्रगतिको आधारमा सरकारले आवश्यक बजेट उपलब्ध गराउने आश्वसन दिएको उनको भनाइ छ ।

कस्तो हुन्छ स्मार्ट सिटी ?
स्मार्ट सिटी भन्ने अवधारण नेपालका लागि नयाँ भएको कायस्थ बताउँछन् । परामर्शदाताको सुधाव नआएसम्म अहिले नै स्मार्ट सिटी कस्तो हुन्छ भन्नु हतार हुने उनको भनाई छ ।

स्मार्ट सिटी कस्तो अवधारणमा बन्ने र त्यहाँ कस्तो किसिमको पूर्वाधारहरु निर्माण गरिने सम्पुर्ण कुराको जानकारी परामर्शदाताले प्रतिवेदनमा उल्लेख गर्नेछन् । त्यसका लागि परामर्शदाताले तयार पर्ने प्रतिवेदन आउन आवश्यक हुने उनी बताउँछन् ।

थप १० वटा छन् स्मार्ट सिटी
सरकाले आर्थिक बर्ष २०७३/७४ को बजेटमा थप १० वटा नयाँ स्मार्ट सिटी निर्माण गर्ने अवधारण अगाडि ल्याएको छ । धनकुटा, मिर्चैया, चन्द्रपुर, काभ्रे उपत्यका, भरतपुर, तुल्सीपुर, टिकापुर, वालिङ, दुल्लु र अमरगढीमा स्मार्ट सिटी बनाउनका लागि बजेटमा प्रस्ताव गरिएको छ ।

कसको लगानीमा बन्छन् स्मार्ट सिटी ?
हालसम्म सरकारकै लागनीमा स्मार्ट सिटी बनाउने तयारी गरिएको छ । तर परामर्शदाताको प्रतिवेदन नआई लगानीको मोडालिटी तय नहुने विभागको भनाइ छ ।

निर्देशक कायस्थका अनुसार परामर्शदाताको प्रतिवेदन आएपछि सो विषयको टुङ्गो लाग्नेछ । प्रतिवेदनका आधारमा सरकार, वैदेशिक श्रोत वा वैदेशिक संस्थासँगको समन्वयनमा स्मार्ट सिटी निर्माण हुने उनी बताउँछन् ।


क्लिकमान्डु