पावर ब्यांकमा नै घट्यो विद्युत् उत्पादन, लोड व्यवस्थापनमा समस्या



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले पावर ब्यांकको रुपमा प्रयोग गर्दै आएको देशको हालसम्मकै ठूलो आयोजना कालीगण्डकी ए जलविद्युत् आयोजनाको उत्पादन क्षमतामा करिब ४५ प्रतिशतले कटौती भएको छ ।

कुल १४४ मेगावाट क्षमताको सो आयोजनाले हाल दैनिक ८० मेगावाट मात्रै विद्युत् उत्पादन गरिरहेको छ । दैनिक जसो नदीमा पानी घट्दै गएका कारण विद्युत् उत्पादनमा भारी कटौती भएको हो ।

दैनिक रुपमा जाडो बढ्दै गएको र बढी विद्युत् आवश्यक पर्ने समयमा नै विद्युत्को उत्पादन घटेपछि माग व्यवस्थापनमा प्राधिकरणलाई समस्या पर्न थालेको छ ।

वर्षाकालमा तीन वटा युनिटबाट पूर्ण क्षमता भन्दा माथि उत्पादन गर्ने आयोजनाबाट विद्युत् उत्पादन कम भएपछि प्राधिकरणले मध्य नेपाल र काठमाडौंको विद्युत् व्यवस्थापनका लागि वैकल्पिक उपाय अवलम्बन गर्नुपर्ने देखिएको छ ।

आयोजनाका प्रमुख राजेश पाण्डेले आयोजनाको उत्पादन माघसम्म ५० प्रतिशतको हाराहारीमा मात्रै हुने बताए । उनले भने – नदीमा पानीको बहाव एकदमै कम हुन पुगेको छ । त्यसकारण एउटा मात्रै युनिट चलाउनु परेको छ ।

सो आयोजनामा मात्रै होइन मस्र्याङदी कोरिडोरका अधिकाशं आयोजनामा विद्युत् उत्पादन घटेको छ । प्राधिकरणले मस्र्याङदी कोरिडोरका अधिकाशं आयोजनालाई देशको पावर ब्यांकको रुमपा लिने गरेको छ ।

उता प्राधिकरणको केन्द्रिइ प्रसारण लाइनमा विद्युत्को माग ह्वात्तै बढेको छ । दैनिक १ हजार ३२५ मेगावाट माग रहेकोमा त्यो माग बढेर १ हजार ४०० मेगावाटको हाराहारीमा पुगेको छ ।

जाडोको समयमा हिटर बाल्ने र पानी तताउने उपकरणको प्रयोग बढी भएका कारण विद्युत् माग बढेको हो ।


क्लिकमान्डु