अब स्कुल/कलेजको पाठ्यक्रममै बीमा विषय पढ्न पाइने



काठमाडौं । अब स्कुल र कलेजको पाठ्यक्रममै बीमा विषय पढ्न पाइने भएको छ । जनस्तरमा बीमाको चेतना व्यापक विस्तार गर्ने उदेश्यले पाठ्यक्रममा नै बीमा विषय समावेस गर्ने प्रक्रिया अघि बढिसकेको छ ।

बीमा क्षेत्रको नियामक निकाय बीमा समिति र त्रिभुवन विश्वविद्यालयले आगामी शैक्षिक सत्रको पाठ्यक्रममा बीमा विषयलाई समेट्ने गरी काम गरिरकेको बीमा सतिका अध्यक्ष चिरञ्जीबी चापागाईंले जानकारी दिए ।

‘जनस्तरमा बीमाको चेतना पुर्याउनुपर्ने आवश्यकता छ, त्यसैले बीमा समितिले त्रिविसँग सहकार्य गरी आगामी शैक्षिक सत्रदेखि पाठ्यक्रममा नै बीमा विषय पढाई हुने व्यवस्था मिलाउनका लागि काम गरिरहेका छौं,’ अध्यक्ष चापागाईंले क्लिकमाण्डूसँग भने ।

बीमालाई पाठ्यक्रममा समावेस गर्नका लागि समितका अध्यक्ष चापागाईंको संयोजकत्वमा त्रिविका डिन लगायतको कमिटि नै बनिसकेको छ । उक्त कमिटिले बीमा समितिले रोस्टर तयार गर्ने र त्रिविले फ्याकल्टीमा समावेस गरेर अघि बढ्ने निर्णय गरिसकेका छन् ।

‘त्रिवि र बीमा समिति दुबै मिलेर पाठ्यक्रम तयार पार्ने काम अघि बढाइसकेका छौं,’ चापागाईंले भने ।

विगत लामो समयदेखि बीमालाई स्कुल, कलेजको पाठ्यक्रममा समावेस गर्ने चर्चा चले पनि चापागाईं बीमा समितिको अध्यक्ष भएर आएपछि यसको औपचारिक प्रयिक्रया अघि बढेको हो । चापागाईं ठीक एक वर्षअघि बीमा समितिको अध्यक्षमा नियुक्त भएका थिए ।

नेपालमा बीमाको इतिहास निकै लामो भएपनि बीमाको चेतना र पहुँच भने अत्यन्तै कम छ । बीमा समितिकै तथ्यांकलाई हेर्ने हो भने पनि अहिले कूल जनसंख्याको ६/७ प्रतिशत जनसंख्या मात्रै बीमाको पहुँचभित्र छ ।

बीमा समितिका अध्यक्ष चापागाईं

‘९० प्रतिशतभन्दा बढी जनसंख्या बीमाको पहुँचबाहिर रहनु भनेको दुर्भाग्य नै हो, बीमा बारे जनस्तरमा चेतना नै नभएकाले यस्तो भएको हो,’ चापागाईंले भने, ‘पाठ्यक्रममै बीमा विषय पढाई भएपछि बीमाको चेतना बढ्छ । र, चेतनाले बजार पनि बढाउँछ ।’

चापागाईंले समितिको नियुक्त हुनेवित्तिकै आफ्नो कार्यकालमा बीमाको पहुँचको प्रतिशत दोहोरो अंकमा पुर्याउने घोषणा गरेका थिए ।

त्यतिमात्रै होइन, बीमाको चेतना विस्तार गर्नका लागि स्थानीय सरकार, प्रदेश सरकारसँग सहकार्य गरेर र आफ्नै प्रत्यक्ष संलग्नतामा पनि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने तयारी गरिरहेको चापागाईंले जानकारी दिए । त्यसका अलावा आमसञ्चार माध्यमहरुसँग पनि सचेतना अभिवृद्धिमा सहकार्य गर्ने उनको सोच छ ।


पुष्प दुलाल