दश महिनामा आन्तरिक हवाई यात्रु २० लाख पुगे



काठमाडौं । पछिल्ला वर्षहरुमा जहाज मार्फत यात्रा गर्ने नेपालीको संख्या बढ्दै गएको छ । सन् २०१७ को १० महिनामा आन्तरिक तर्फ १९ लाख ९२ हजार ९०३ जनाले यात्रा गरेका छन् ।

सन् २०१६ को दश महिनामा १४ लाख ११ हजार १३ जनाले यात्रा गरेका थिए । जुन २०१७ मा ५ लाख ८१ हजार ८ सय ९० यात्रुले बढी हो । नागरिक उड्डय प्राधिकरणले दिएको जानकारी अनुसार जनवरीदेखि सेप्टेम्बरसम्म त्रिभुवन विमानस्थल भएर देशभित्रका विभिन्न ठाउँमा यात्रा गर्नेको संख्या गत वर्ष भन्दा ४१ प्रतिशतले बृद्धि भएको छ ।

देशभित्र सडक यातायात भरपर्दो नभएको, नेपालीहरुकै पनि क्रयशक्ती बढेको, विदेशी पर्यटक पनि यो वर्ष बढेकाले आन्तरिक हवाई यात्रुको संख्या बढेको हो ।

नेपालमा हाल कूल १९ एयरलाइन्सले आन्तरिक हवाई सेवा दिइरहेका छन्। फिक्सड विङ (सेड्युल उडान गर्ने) मार्फत् १० र रोटर तर्फ ९ कम्पनीले सेवा दिइरहेका छन् । हाल ३१ विमानस्थलमा सेड्युल उडान भइरहेको छ भने ७ एयरपोर्टमा चार्टड उडान हुने गरेको छ । बाँकी २० एयरपोर्ट संचालनमा आएका छैनन् ।

सन् २०१७ मा आन्तरिक विमानस्थलमा यात्रुको संख्या बढेको छ । सुर्खेत, सिमिकोट, जोमसोम लगायतका विमानस्थलमा पनि यो अवधिमा यात्रुहरुको संख्या बढेको छ । विश्वव्यापीरुपमा हवाई यात्रुको संख्या प्रत्येक वर्ष उकालो लागेको र त्यसमा पनि एसिया प्यासाफिक क्षेत्रमा अझै बढीरहेको त्यही अनुसार नेपालमा पनि बढेको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक संजिव गौतम बताउछन् ।

२०१६ मा कूल यात्रा गर्ने भन्दा यो वर्षको १० महिनामै २ लाख बढीले आन्तरिक यात्रा गरेका छन् । सन् २०१६ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १७ लाख ५७ हजार ५९७ जनालेमात्र यात्रा गरेका थिए ।

अघिल्लो वर्षको १० महिनाको तुलनामा यो वर्ष उडान तथा अवतरणको संख्या पनि १६ हजारले बढेको छ । अघिल्लो वर्ष यो अवधिमा ५९ हजार ६३ उडान तथा अवतरण भएकोमा यो वर्ष ७५ हजार ८३९ पुगेको छ । तर विमानस्थलको पूर्वाधार र संरचना भने पुरानै छ ।
एकमात्र रनवे भएको, सिमित पार्किङ वे, सानो टर्मिनल भवनजस्ता कारणले त्रिभुवन विमानस्थल साँघुरो बन्दै गएको छ। यात्रुको संख्या बढेसँगै प्रत्येक वर्ष विमानको संख्या पनि बढ्दै गएको छ ।

यात्रुको संख्या बढ्दै जाने, विमानस्थलको पूर्वाधार उही रहने कारणले हवाई सुरक्षामै गम्भिर असर पर्नेतर्फ सचेत हुनुपर्ने वायुसेवा संचालक संघ (आयोन) का अध्यक्ष पवित्रकुमार कार्की बताउँछन् ।


क्लिकमान्डु