यी ३२ एयरलाइन्स कम्पनी, जस्ले विमानस्थल प्रयोग गरे तर पैसा तिरेनन्



काठमाडौं । नेपालमा विगतमा उडान भरेका र हाल बन्द अवस्थामा रहेका ३२ एयरलाइन्स कम्पनीको बक्यौता उठ्न सकेको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई तिर्नुपर्ने करोडौ रुपैयाँ नतिर्दै कम्पनी बन्द भएका थिए ।

नेपालमा आएका दर्जनौ अन्तर्राष्ट्रिय एयरलाइन्सले पनि करोडौ रुपैयाँ बक्यौता नतिर्दै उडान बन्द गरेका थिए । भने नेपालमा आन्तरिक उडानका लागि संचालनमा आएका तर हाल बन्द अवस्थामा रहेका एक दर्जन भन्दा बढी एयरलाइन्सको पनि करोडौ रुपैयाँ बक्यौता उठ्न नसकेको हो ।

विमानस्थल कार्यालयका अनुसार ३२ एयरलाइन्स कम्पनीको ११ करोड ३९ लाख ४ हजार ९ सय ७३ रुपैयाँ बक्यौता वर्षौदेखि उठ्न नसकेको हो ।

आन्तरिक तर्फ सवैभन्दा बढी बक्यौता तत्कालिन समयका उडान भरेको हिमायल हेलिकप्टरको रहेको छ । उक्त कम्पनीको मात्रै ३ करोड ३३ लाख १२ हजार रुपैयाँ बक्यौता रहेको छ ।

विगतमा नेपालमा उडान भर्न आएका विदेशीदेखि स्वदेशी एयरलाइन्स कम्पनीहरुले बक्यौता तिरेका छैनन् । उक्त कम्पनीहरुसंग बक्यौता उठाउनको लागि केन्द्रिय तहसिलको कार्यालय पठाउने तयारी गरेको विमानस्थल कार्यालयका महाप्रवन्धक देवानन्द उपाध्ययले जानकारी दिए ।

‘हामीले बक्यौता उठाउने भनेको उडान गरिरहेका एयरलाइन्सहरुको हो, बन्द भएकाहरुसंग उठाउने काम तहसिलको कार्यालयको हो,’ उपाध्ययले भने ।

बन्द भएको किङ फिसर एयरलाइन्स जसको बक्यौता १ करोड १५ लाख ९७ हजार रुपैयाँ बक्यौता तिरेको छैन । उक्त एयरलाइन्सका मालिक भारतीय हुन् । किङ फिसर मालिक विजय माल्य भारतबाट भागेर वेलायत गएर बसेका छन् । उनले भारतका बाणिज्य बैंकहरुमा पनि अर्बौ रुपैयाँ कर्जा तिरेका छैननन् ।

आन्तरिक तर्फ सवैभन्दा बढी बक्यौता तत्कालिन समयका उडान भरेको हिमायल हेलिकप्टरको रहेको छ । उक्त कम्पनीको मात्रै ३ करोड ३३ लाख १२ हजार रुपैयाँ बक्यौता रहेको छ ।

विगतमा उडान भर्न आएका अष्ट्रीयन एयरलाइन्स, जर्मनीको लुफ्थान्सा, गल्फ एयर, बहराईन एयरलाइन्सलगायत एक दर्जन भन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीहरुले बक्यौता नतिर्दै नेपालमा उडान बन्द गरेका हुन् ।

आन्तरिकतर्फ पनि गरुड, कस्मीक, साँग्रिला, नेपाल एयरवेज, नेकोन एयर, गोर्खा एयरलाइन्स, मनास्लु एयर, अल्टीच्युट एयरलाइन्स गरी १८ एयरलाइन्स कम्पनीले करोडौ रुपैयाँ बक्यौता नतिर्दै नेपालमा उडान बन्द गरेका छन् ।

बन्द अवस्थामा रहेका र कारोबारमा नरहेका संघसंस्था र फर्महरुसंग पनि २ करोड ९७ लाख ५७ हजार ५ सय १८ रुपैयाँ बक्यौता उठ्न सकेको छैन् ।


क्लिकमान्डु